सभामुख अग्नीप्रसाद सापकोटाले संसद बैठक सुचारु गराउन प्रमुख प्रतिपक्ष दल नेकपा एमालेलाई पुनः आग्रह गरेका छन्।
सोमबार पनि प्रतिनिधिसभाको बैठक अवरुद्ध पार्दै वेलमा नारा लगाउन पुगेका एमालेका सांसदहरुलाई उनले आफूविरुद्ध लगाइएको मुद्दा अदालतमा विचाराधिन रहेको उल्लेख गर्दै ती मुद्दाहरुमा प्रतिकूल हुने गरी संघीय संसदमा छलफल गर्न नमिल्ने कुरा पनि स्मरण गराए।
सभामुख सापकोटाले भने, ‘नेपालको संविधानको धारा १०५ ले अदालतमा विचाराधिन मुद्दाहरुमा न्याय निरुपणमा प्रतिकूल असर पर्ने विषयमाथि संघीय संसदको कुनै पनि सदनमा छलफल गर्न बन्देज गरेको कुरा पुनः स्मरण गराउन चाहन्छु। प्रतिनिधि सभा नियमावली २०७५ को नियम २१ को खण्ड ‘ग’, ‘घ’का प्रावधानहरु हामीले सबैले पालना गर्नुपर्ने प्रावधानहरु हुन्। उल्लेखित प्रावधानहरु पालनाका लागि पुनः अनुरोध गर्दछु।’
एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो दलले कारबाही गरेका माधव नेपालसहितका १४ जना सांसदहरुलाई पदमुक्त नगरेर सभामुख सापकोटाले पदीय मर्यादा कायम गर्न नसकेको भन्दै सर्वोच्च अदालतमा मुद्दा दायर गरेका थिए। सोही मुद्दा अदालतमा विचाराधिन रहेकाले न्याय निरुपणमा प्रतिकूल असर हुने गरी संसदमा ती विषयमा छलफल गर्न लगाउने नमिल्ने सभामुख सापकोटाको तर्क थियो।
सभामुख सापकोटाले बैठक सुचारु गराउन गरेको आग्रहलाई एमालेका सांसदहरुलाई अस्विकार गर्दै वेलमा नाराबाजी गरिरहे। यसैबीच सभामुख सापकोटाले राष्ट्रपति विद्या भण्डारीले प्रमाणिकरण गरेर संसदमा पठाएको विनियोजन विधेयक २०७८ पढेर सुनाएका थिए।

