हेटौँडा, कात्तिक १० गते । अल्पमतमा पर्नुभएका बागमती प्रदेशका मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले बुधबार प्रदेश सभाको बैठकमा विश्वासको मत लिन लाग्नुभएको छ ।
मुख्यमन्त्री बनेको एक सातामा अल्पमतमा पर्नुभएका शाक्यले दुई महिनापछि प्रदेश सभाबाट विश्वासको मत लिन लाग्नुभएको हो ।
मुख्यमन्त्री शाक्य अल्पमतमा परेसँगै गत असोज २४ गते विश्वासको मत प्राप्त गर्न प्रदेश सभाको बैठकमा विश्वासको मत प्राप्त गर्न प्रस्ताव पेस गर्नुभएको थियो । प्रस्तावमाथि प्रदेश सभाको गत बिहीबारको बैठकमा मुख्यमन्त्री शाक्यले प्रदेश सभाका सदस्यहरूसँग आफ्नो पक्षमा विश्वासको मत दिन आग्रह गर्नुभएको थियो ।
गठबन्धनका दलहरू नेकपा (माओवादी केन्द्र), नेपाली काँग्रेस, नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी नेपालका नेताहरूले विश्वासको मतको विपक्षमा मतदान गर्ने बताउँदै राजीनामा दिएर मार्ग प्रशस्त गर्न र सहजरूपमा सत्ता हस्तान्तरण गर्न आग्रह गर्नुभएको थियो ।
प्रदेश सभाको बैठक बुधबार दिउँसो १ बजे बस्ने भएको छ । सभामुख सानुकुमार श्रेष्ठले प्रदेश सभाको बुधबारको बैठकमा विश्वासको मतसम्बन्धी सम्पूर्ण प्रक्रिया अगाडि बढ्ने बताउनुभएको छ । बुधबारको बैठकमा मुख्यमन्त्रीले विश्वासको मतका लागि पेस गर्नुभएको प्रस्तावको पक्षमा प्रदेश सभाका सदस्यहरूले बोल्न चाहेमा समय दिइने भएको छ ।

