प्रधानमन्त्री केपी शर्मा ओलीले जतिसक्दो चाँडै विश्वासको मत लिने तयारी गरेका छन् । तर, नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) लगायतका विपक्षी दलहरु भने प्रधानमन्त्री ओलीलाई विश्वासको मत लिनबाट रोक्ने तयारीमा जुटेका छन् ।
साथै, कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले धारा ७६ को ५ बमोजिम नयाँ सरकार गठन गर्दा अब जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष महन्थ ठाकुरलाई अघि सार्नेसम्मको गृहकार्य गरेका छन् ।
यसअघि पनि माओवादी केन्द्रका अध्यक्ष दाहाल र कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडे, नेताहरु कृष्ण प्रसाद सिटौलालगायतले ठाकुरलाई प्रधानमन्त्री बनाउनुपर्नेमा जोड दिएका थिए । तर, सभापति देउवाले भने यसमा कुनै ग्रिन सिग्नल दिएका थिएनन् ।
तर, अब देउवापनि ओलीको नेतृत्वमा चुनाव चाहँदैनन् । त्यसो भएको हुनाले यो दुई वर्ष ठाकुरलाई नै प्रधानमन्त्री बनाउने वा एक वर्षसम्म ठाकुरलाई सरकारको नेतृत्व गर्न दिएर त्यसपछि चुनावी सरकारको नेतृत्व आफूले लिने देउवाको योजना छ । यसमा अहिले विपक्षी गठबन्धनका नेताहरुले आन्तरिक छलफल गरिरहेको स्रोतको दाबी छ ।

