६ जेठ, काठमाडौं । राष्ट्रियसभामा रिक्त पदका लागि वागमती प्रदेशमा आज उपनिर्वाचन हुँदै छ । वागमती प्रदेशको अन्य समूहतर्फ रिक्त एक पदका लागि उपनिर्वाचन हुन लागेको हो ।
उपनिर्वाचनमा सत्तारुढ एमालेको तर्फबाट गृहमन्त्री रामबहादुर थापा (बादल) र विपक्षी गठबन्धनको समर्थनप्राप्त एमाले माधव नेपाल समूहका खिमलाल देवकोटा र नेमकिपाका कृष्णबहादुर तामाङ उम्मेदवार छन् ।
मुख्य प्रतिस्पर्धी भने बादल र देवकोटा हुन् । यी दुवै नेकपा एमालेका भएकाले निर्वाचन परिणामलाई चासोका साथ हेरिएको छ ।
निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले उपनिर्वाचनको परिणाम आजै आउन सक्ने बताए । ‘कुनै प्राविधिक समस्या आएन भने मतपरिणाम आजै आउँछ’, उनले भने ।

