काठमाडौं । प्रधानमन्त्री केपी ओली नेतृत्वको मन्त्रिपरिषदमा सहभागी हुन जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर र राजेन्द्र महतो पक्ष छलफलमा जुटेको छ ।
प्रधानमन्त्री ओलीसँग ठाकुर-महतो पक्षले आज छलफल गर्दैछन् । मन्त्रालयको संख्या र नाम टुंगो लागे आइतबार नै मन्त्रीमण्डलमा सहभागी हुने सम्भावना छ ।
ठाकुर-महतोनिकट एक नेताका अनुसार अहिलेसम्म ८ देखि १० वटा मन्त्रालय लिनेबारेमा छलफल चलेको छ । तर, मन्त्रालयको नाम टुंगो लागेको छैन ।
राजेन्द्र महतोको नेतृत्वमा सरकारमा जाने सहमति भने भइसकेको छ । दुईवटासम्म उपप्रधामन्त्री लिन सक्ने ती नेताको भनाइ छ । र, केही राज्यमन्त्री पनि बन्नेछन् ।
ती नेताका अनुसार उपेन्द्र यादव पक्षबाट तानिएका विमल श्रीवास्तव, उमाशंकर अरगरियालयातका नेताहरूको पनि व्यवस्थापन गर्नुपर्ने भएकोले १० वटा मन्त्रालयमा दाबी भइरहेको छ ।

