प्रधानमन्त्री केपी शर्मा ओलीले विपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रयोग गरेको भाषाप्रति आपत्ति जनाएका छन् ।
शनिबार बालुवाटारमा आयोजित एक कार्यक्रममा ओलीले देउवाले आज जारी गरेको विज्ञप्तिमा उल्लेख गरेको भाषाप्रति आक्रोश पोखे ।
“शेरबहादुर देउवाजीको औपचारिक वक्तव्य हेरेँ । राष्ट्रपतिलाई तपाईंसम्म भन्ने सभ्यता नेपाली कांग्रेसमा रहेन । सभापतिको तहबाट तिमी, उनी, यस्तो गरिन् भनिएको छ,” उनले भने ।
उनले देशलाई असभ्यतातिर लान खोजिएको जिकिर गरे । “पुष्पकमल दाहालले बोलेका, वचन लगाएका, आरोप करिब ०६३ सालदेखि १५ वर्षका आरोप गालीगलौजको भाषा हेर्ने हो भने यति गम्भीर आरोप लगाइएको छ, मान्छेहरुलाई असभ्यताको पराकाष्ट देखिन्छ । संस्कारहीनताको पराकाष्ट देखिन्छ,” ओलीले भने ।
अरु नेताले पनि त्यस्तै बोलेर समाजलाई असभ्यतातिर धकेल्न खोजिएको उनले बताए ।
