काठमाडौँ / सरकारले निजी कम्पनीलाई विद्युत् खरिद–बिक्री गर्ने अनुमति दिने तयारी थालेको छ ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सहसचिव मधुप्रसाद भेटवालले नेपाल पूर्वाधार विकास बैंक (निफ्रा)ले स्थापना गर्न लागेको विद्युत् व्यापार कम्पनीलाई विद्युत् व्यापारको अनुमति दिन लागेको बताए ।
नेपाल आर्थिक पत्रकार समाज (सेजन)ले बुधबार आयोजना गरेको भर्चुअल अन्तरक्रियामा उनले अन्य कम्पनीलाई पनि यस्तो अनुमति दिने उल्लेख गरे । ‘जुन प्रक्रियाबाट निफ्रालाई अनुमति दिइन्छ, त्यसैगरी अन्य कम्पनीलाई पनि अनुमति दिइन्छ’ उनले भने ।
कार्यक्रममा नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले पनि नयाँ व्यापार कम्पनीहरू आउनु प्राधिकरणका लागि सकारात्मक रहेको बताए ।
नेपाल विद्युत् प्राधिकरणले स्थापना गरेको विद्युत् व्यापार कम्पनीलाई समेत अनुमति दिन सरकारले अस्वीकार गर्दै आएको थियो ।
विद्युत् विकास विभागले क्षेत्रीय विद्युत् व्यापारका लागि तत्काल कानुनी प्रबन्ध नभएको भन्दै कम्पनीलाई अनुमति दिएको थिएन ।
कार्यक्रममा सहसचिव भेटवालले जलाशययुक्त आयोजनालाई ५० वर्ष, अर्धजलाशयुक्त आयोजनालाई ४० वर्षको सञ्चालन अनुमति दिने प्रक्रियामा रहेको बताए ।

