काठमाडौं । प्रगतिशील लेखक संघको ७६ औं शृंखला सम्पन्न भएको छ । ‘नेपालको प्रगतिवादी आन्दोलनमा सरोज ओलीको योगदान’ बिषयमा चर्चा-परिचर्चा सहित कार्यक्रम सम्पन्न भएको हो ।
प्रगतिशील लेखक संघ नेपाल केन्द्रीय समितीद्वारा आयोजित परिसंवादमा प्रस्तोता साहित्यकार नन्दु उप्रेतीले नेपालको प्रगतिशील आन्दोलनमा सरोज ओलीको योगदानबारे चर्चा गर्नुभएको थियो । ०८१ कार्तिक १६ मा दिवंगत साहित्यकार ओली नेपाली प्रगतिवादी साहित्य इतिहासमा बिर्सनु नहुने व्यक्ती भएको उल्लेख गर्दै प्राज्ञ उप्रेतीले सरोज ओलीको सृजनात्मक योगदान, साँगठानिक योगदान एवम् वैचारिक प्रतिवद्धतासहितको योगदानबारे प्रकाश पार्नु भएको थियो ।
प्रलेस केन्द्रीय कार्यालय बागबजारमा शुक्रबार आयोजित परिसंवादमा साहित्यकार नन्दु उप्रेतीको प्रस्तुतिलाई साहित्यकार मातृका पोखरेल, गोपिरमण उपाध्याय, डा हरि सिलवाल, इन्जिनियर मदन थपलिया लगायतले आफ्नो पुरक धारणासहित समृद्ध गर्नुभएको थियो ।

गोपिरमण उपाध्याय, डा पुष्कर राज भट्ट, डा गोपाल अस्क, डाहरिप्रसाद सिलवाल, नानिमैया अधिकारी, ई. मदन थपलिया (ओलीका ज्वाइँ), चेतनाथ धमला, बाबा बस्नेत, प्रा डा ध्रुव घिमिरे, विजुला रायमाझी, बैरागी जेठा, मिसन अधिकारी लगायतको उपस्थिती भएको कार्यक्रमको सञ्चालन प्रलेसका उपाध्यक्ष समीर सिंहले गर्नुभएको थियो भने अध्यक्षता प्रलेसका अध्यक्ष डा मधुसुदन गिरीले गर्नुभएको थियो ।

प्रगतिशील लेखक संघ नेपालका झापा अध्यक्ष एवम् केन्द्रीय सदस्य ओलीको प्रगतिवादी नेपाली साहित्यमा महत्वपूर्ण योगदान रहेको उल्लेख गर्दै भाषा आयोगका सदस्य एवम् प्रलेसका पूर्व अध्यक्ष मातृका पोखरेलले ओलीको योगदानसहितको स्मृतिग्रन्थ प्रकाशन गर्न आवश्यक रहेको औंल्याए । कार्यक्रमका सभाध्यक्ष प्रलेसका अध्यक्ष डा मधुसुदन गिरीले स्मृतिग्रन्थ प्रकाशन गरी ओलीको योगदान थप उजागर गर्न अघि बढ्ने प्रतिवद्धता जनाउनु भयो ।

