त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट विराटनगरका लागि उडेको बुद्ध एयरको विमान अवतरण नै नगरी फर्किएर काठमाडौँको आकाशमा करिब आधा घण्टा फन्को मारेको घटनामा छानबिन गर्न गठित समितिले क्याप्टेन एजी शेर्पासहितका क्रु मेम्बरको पनि कमजोरी औंल्याएको छ।
ल्यान्डिङ गियरमा समस्या आएपछि बुद्ध एयरको विमान काठमाडौँ फर्किएर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको थियो। विमानमा ७३ यात्रुसहित ७७ जना थिए। बुद्ध एयरद्वारा क्याप्टेन अनन्त डंगोलको संयोजकत्वमा गठित छानबिन समितिले विमान उड्नुअघि क्रु मेम्बरले जहाजको ‘इन्डिकेटर’को संकेत याद नगरी उडान गर्दा समस्या आएको निष्कर्ष निकालेको छ।
ककपिटभित्र देखिएको इन्डिकेटरले समस्या रहेको संकेत देखाए पनि क्याप्टेनसहितका क्रु मेम्बरले वास्ता नगर्दा घटना भएको समितिको प्रतिवेदनमा उल्लेख छ।
‘बाहिरी सूचनामा बढी भर पर्दा समस्या आएको हो, इन्डिकेटरले पहिले नै संकेत गरेको देखिएको छ,’ प्रतिवेदनमा उल्लेख गरिएको छ।
