नेपाललाई जापान सरकारले ६ एम्बुलेन्स प्रदान गरेको छ । आज आयोजित कार्यक्रममा स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री उमेश श्रेष्ठलाई नेपालस्थित जापानका राजदूत किकुता युताकाले एम्बुलेन्स हस्तान्तरण गरेका हुन् ।
नेपालस्थित जापानका राजदूत किकुता युताकाले नेपाललाई सबै क्षेत्रमा जापानले सहयोग गर्दै आइरहेको बताए । उक्त एम्बुलेन्स मन्त्रालयले नेपाल एम्बुलेन्स सेवालाई आजै प्रदान गरेको छ । एम्बुलेन्स सेवाका अध्यक्ष डा.प्रदीप वैद्यले प्राप्त एम्बुलेन्सले बिरामीलाई सेवा प्रदान गर्ने बताए । एम्बुलेन्समा प्राथमिक उपचारसहितको सेवा बिरामीलाई दिइने उनले बताए । उनका अनुसार एम्बुलेन्समा एक जना इमर्जेन्सी मेडिकल टेक्निसियन (इएमटी) सहितको प्राथमिक स्वास्थ्य उपचारसमेत गरिन्छ ।
एम्बुलेन्समा राखेर अस्पतालसम्म लैजाँदा बिरामीलाई केही समस्या पर्नसक्ने भएकाले हामीले एक जना इएमटी हुन्छन्”, अध्यक्ष वैद्यले भने, “ती इएमटीले बाटोमा बिरामीलाई केही समस्या परे भने उपचार गर्दछन ।” एम्बुलेन्समा भेन्टिलेटर, अक्सिजनलगायत स्वास्थ्य सामग्रीसहितको तीन महिना तालिम प्राप्त एक जान इएमटी रहने गर्दछन् । अध्यक्ष डा.वैद्यले अस्पतालसम्म लैजाँदा बिरामीलाई केही समस्या परेमा सामान्य उपचार गर्ने प्राविधिकसमेत एम्बुलेन्समा राखिने जानकारी दिए ।
