ई–वाणिज्य तथा होम डेलिभरी गर्ने कम्पनीहरूको संगठन ई–बिजेनस एसोसिएसन नेपाल (इबान)ले कोभिड–१९ को दोस्रो लहरका कारण भएको निषेधाज्ञामा सुरक्षित तवरले होम डेलिभरी गर्ने सवारीसाधनलाई छुट दिन आग्रह गरेको छ । उपभोक्ताले वस्तु घरमै पाउँदा घरबाहिर ननिस्कने र संक्रमणदर घट्ने जिकिरसहित संस्थाले होम डेलिभरी गर्ने सवारीसाधनलाई सडकमा गुड्न दिन आग्रह गरेको हो ।
इबानका अध्यक्ष सागर भट्टले उच्च सुरक्षा सतर्कताका साथ होम डेलिभरी गर्ने विषयमा गत साता मात्रै नेपालमा उच्चस्तरीय समन्वय समिति (सिसिएमसी), जिल्ला प्रशासन कार्यालय र विभिन्न मन्त्रालयहरूमा समेत यस विषयमा आफ्नो प्रस्ट योजना नै पेस गरेको बताए ।
सम्बद्ध निकायहरूबीच आवश्यक समन्वय गरी यो सेवालाई प्रभावकारी तुल्याउन सकिएमा यसवाट आमउपभोक्तालाई राहत मिल्ने अध्यक्ष भट्टको भनाइ छ । उनले भने, ‘उच्च सुरक्षा सतर्कतालाई प्राथमिकता दिँदै आवश्यक र अनावश्यक वस्तुको सूची तयार गर्नुभन्दा पनि समग्रमा ई–वाणिज्य र होम डेलिभरीलाई आपत्कालीन सेवाका रूपमा अगाडि सार्न सरकारसँग हामीले आग्रह गरेका छौँ ।’

