काठमाडौँ — हमासका एक जना वरिष्ठ अधिकारीले इजरायलसँग एक दुई दिनमै संघर्षविराम हुने बताएका छन् । ११ दिनदेखि इजरायल र गाजाबीच दोहोरो आक्रमण जारी रहेका बेला हमासका अधिकारीको यस्तो भनाइ आएको हो ।
तर इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले बुधबार ‘इजरायली नागरिकको सुरक्षा सुनिश्चित नभएसम्म आक्रमण जारी रहने’ बताएका थिए । बिहीबार बिहान मात्रै पनि गाजामा इजरायलले १०० भन्दा बढी हवाई आक्रमण गरेको छ । त्यस्तै हमासले पनि प्रतिक्रियास्वरुप इजरायलतर्फ सयौं रकेट प्रहार गरिरहेको छ ।
अहिलेसम्म आक्रमणमा १०० बालबालिका र महिलासहित २ सय २७ प्यालेस्टिनी नागरिकको मृत्यु भएको बीबीसीले जनाएको छ । त्यस्तै इजरायलतर्फ २ बालबालिकासहित १२ जना मारिएका छन् । इजरायली सेनाका अनुसार हमासले अहिलेसम्म करिब ४ हजार रकेट प्रहार गरेको छ ।

