प्रधानमन्त्री ओलीले बेलायती राजदूतसँग नेपाललाई खोप उपलब्ध गराउन अनुरोध गरेका छन्। बिहीबार दिउँसो सिंहदरबारस्थित प्रधानमन्त्री ओलीको कार्यालयमा शिष्टाचार भेट गर्न गएकी बेलायती राजदूत निकोला पोलिटसँग प्रधानमन्त्री ओलीले अक्सफोर्ड विश्वविद्यालय र अष्ट्राजेनेकाले बनाएको कोरोनाविरूद्ध खोप उपलब्ध गराउन अनुरोध गरेका हुन्।
प्रधानमन्त्री ओलीक प्रेस सल्लाहकार सूर्य थापाका अनुसार प्रधानमन्त्री ओली र राजदूत पोलिटबीच दूई देशको आपसी सम्बन्ध र विशेष गरी कोभिड-१९ विरूद्धको लडाइँमा सहयोग आदान-प्रदान गर्नेबारे छलफल भएको थियो।
नेपालले सुरूमा बेलायतको अक्सफोर्ड विश्वविद्यालय र अष्ट्राजेनेकाले बनाएको खोप लगाउन सुरू गरेको थियो। भारतमा सेरम इन्स्टिच्युट अफ इन्डियाले उत्पादन गरेको उक्त खोप लगाएका ६५ वर्षमाथिका धेरै नागरिकले दोस्रो डोज लगाउन पाएका छैनन्।
भारतमा कोरोनाको संक्रमण फेरि बढेपछि भारतले अहिले खोप निर्यात रोकेको छ। सेरमले यो वर्षको अन्त्यसम्ममा मात्रै खोप निर्यात सुरू हुन सक्ने जनाएको छ। प्रधानमन्त्री ओलीले बेलायती दूतलाई खोप उपलब्ध गराइदिन अनुरोध गरेका हुन्।
