नेपालमा उच्च वेगको हावाहुरीसँगै अति भारी वर्षा हुनेछ । मौसम पूर्वानुमान महाशाखाले बङ्गालको खाडीमा विकास भएको ‘यास’ चक्रवातले भारी वर्षा गराउने भएको छ ।
महाशाखाले शुक्रबार जारी गरेको मौसम पूर्वानुमानका अनुसार चक्रवात भारतको पूर्वी क्षेत्र उडिसा र पश्चिम बङ्गालमा अवतरण भएसँगै पश्चिम–उत्तरबाट पश्चिम सर्ने क्रममा कमजोर हुँदै न्यून चापीय क्षेत्रका रूपमा विकास भएकाले यसको सघन प्रभाव नेपालमा पर्ने भएको हो ।
चक्रवातबाट विकास भएको गहन न्यून चापीय रेखा नेपालको पूर्वी भूभाग हुँदै भित्रिएकोले बिहीबारदेखि नै विभिन्न क्षेत्रमा उच्च हुरीबताससँगै वर्षा गराएको छ । यो क्रम आगामी शनिबार दिउँसोसम्म कायम रहने जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ ।
