-स्वयम्भू शाक्य
आगोको सुक्ष्म रूप झिल्को हो । झिल्कोले दनदनी आगो बलेर खरानी पार्न सक्छ । यो उसको धर्म हो । छुँदा पोल्ने उसको कर्म हो । ऊर्जा उसको स्रोत हो । त्यसैले हे युवाहो ! तिमीहरू आगो बन्नु पर्छ । कतै चिसो ठाउँ छ भने त्यसलाई न्यानो पार्नुपर्छ । तिमीहरू दियो हौ ,अन्धकारमा प्रकाश बनेर छर्नु पर्छ । चम्केर लम्केर तरुण गीत गाएर डेढ करोड (तत्कालिन) नेपालीहरूको शक्तिको आधार बन्नुपर्छ । कतै भत्काउनु छ । कतै बनाउनु छ । बाँझो खेतमा तिमीहरू सबै मिली केही रोप्नु छ । त्यसैले तिमीहरू बाटो बनेर हेर, डाँडा पाखाहरूमा रुख रोपेर हेर, कतै बिरुवा मर्न लागेको छ भने तिमीहरूले पानी दिएर हेर, कलकारखानाहरू खोलेर हेर, परिश्रमीका हातहरू खियाएर हेर, कतै हामी नेपालीहरू भोकै भए करुणा राखी दया गरेर हेर त्यसपछि के पाउनेछौं ? तरुण गीतमा अपार शक्ति छ भनी थाहापाउने छौं । एउटा दियोले लाखौं दियो बालेर नेपाल आमालाई हँसिलो पार्न सक्छौं । त्यसैले तिमीहरू वीर हौ, युद्धाहौ, देशको लागि कालभैरव हौ, वैरीहरूको रगत पिएर आफ्नै आमालाई बचाउने देशभक्ति हौ । तिमीहरूले ढुङ्गा फोर्नु पर्छ । मरुभूमिमा पनि हरियो सागपात रोप्नु पर्छ । तिमीहरूले पानी माग्दा गगनले पनि हाँसी हाँसी झरी शुरु गर्नुपर्छ । त्यसैले तिमीहरूले तरुण गीत गाएर हेर । त्यस भित्र के छ,तिमीहरू आँफैले थाहा पाउने छौं । पुञ्ज पुञ्ज महापुञ्ज बने जस्तै, ज्योति–ज्योति महाज्योति बने जस्तै, नदी–नदी महासागर बने जस्तै, शक्ति–शक्ति महाशक्ति बने जस्तै तिमीहरू त्यही हौ ।
तिमीहरूले ढुङ्गा पगाल्न सक्नुपर्छ । धरतीलाई आफुले खोजे जस्तो बनाउन सक्नुपर्छ । भविष्यका सन्ततीहरूलाई दुःख नहुने गरी बाँच्न सिकाउनु पर्छ । समृद्धिका कामहरूमा तिमीहरूले संदाकालागि पाइला चाल्नुपर्छ । शिक्षा ज्ञानको आधार हो । विद्या बिना तिमीहरूले के गर्न सक्छौ र ?अर्ती र उपदेशको लागि सद्गुरुहरूको दीक्षा पनि आवश्यक हुँदोरहेछ । जिन्दगीमा नयाँ खोपी बनाउन, नयाँ विचारहरूको जन्मदिन, नयाँ कामको थालनी गर्न, नयाँ सोचहरूमा परिवर्तन गर्न हे युवाहौ, तिमीहरूले तरुण गीत गाईदेऊ । विकासका लहरहरू बोकी शहरमा मात्र होइन, गाउँ गाउँमा पु¥याई देऊ । त्यसैले तिमीहरू युगको संवाहक हौ ।अन्धकारलाई चिर्ने आँफै उजेली हौ । कतै तिमीहरू अगाडि मात्र बसेर हेर युगले पनि तिमीहरूसँग हिँड्न खोज्छ ।
एक बली लाख बाल्ने ज्योतिका हौ धार हामी ।
डेढ कोटी नेपालीको शक्तिका आधार हामी ।।
नयाँ शिक्षा, नयाँ दीक्षा, नयाँ जिन्दगीका खोपी ।
विकासका लहर बोकी बढिरहेका बेग हामी ।।
सडेगलेका अनि मक्किएका कुराहरू फालेर जगै देखि नयाँ निर्माण गर्नुछ । मान्छेलाई मान्छे बनाउँनका लागि सभ्यताको बाटो कोर्नुछ । त्यसैले हे युवा हौ !तिमीहरूले आज सडेगलेका रीति रिवाजहरूलाई मिल्काएर फाल्नुछ । मक्कि सकेका कुराहरूलाई सधैकालागि बगाउनु छ । देश विकास गर्नकालागि तरुण गीत गाएर कहिल्यै नभत्कने जग निर्माण गर्नुछ । माटोमा सुन फलाएर स्वतन्त्र आकाशमा उडिरहेका पंक्षीहरू जस्तो नेपालीहरूलाई पनि समृद्धि र स्वतन्त्रता दिलाउनु छ । फेरि स्वर्णयुग बनाउन हामीहरू सबैले कला–कौशल सिक्नुछ । आ–आफ्नो पौरखमा बाँच्नकालागि आफुले जाने बुझेका शीपहरू अरुलाई सिकाउनु छ । त्यसैले हे युवाहौ !तिमीहरूले चाहेर मात्र हेर यो विशाल पहाड बोकेर अन्तै सार्न सकिन्छ । नदीनाला असंख्य खोलाहरूलाई आफुले खोजेको ठाउँमा बगाउन सकिन्छ । त्यसैले सोचेर हेर, मनमनै गुणेर हेर कतै मक्किएको ठाउँ छ भने त्यसलाई फेरिएर हेर अनि थाहापाउने छौ । सोच, सोचेर हेर त्यसभित्र कति गहिरो कुराहरू हुँदोरहेछ । गुण, मनमनै गुणेर हेर त्यसभित्र कति कुराहरू सिक्न सकिन्छ । धमिराले खाएर मक्किएको ठाउँमा हेर धमिरा के हो आफै बुझ्ने छ । सडेगलेका काम नलाग्ने कुराहरू हेर त्यसले हामीलाई कति असर गर्दोरहेछ । हो, आलोक चमक उज्यालो भई घाम जस्तो चम्किनु पर्छ । अन्धकारलाई हटाउनका लागि बायुपंखी घोडा जस्तै बेगले दिनरात काम गर्न सक्नुपर्छ । होइन भने कसरी अन्धकार हटाउन सकिन्छ ? तेल सकेर दियो निभेको बेला हामीले कसरी दियो बाल्न सकिन्छ ?त्यसैले यो भाग्यको कुरो होइन , परिश्रमको कुरो हो । तिम्रै पसिनाले भिजाएर माटो मुछ्ने कुरो हो । देश उभो लगाउँन ढुङ्गा र माटोको पर्खाल बनाउन हामीहरू सबै मिलेर कमिलोको कथा पढ्नु पर्छ । एकता के हो ? परिश्रम के हो ?भविष्य के हो ? ऊर्जा के हो ? यो त सबै त्यही कथाले भनिने छ । एकादेशको कथा जस्तो विपनामा पनि कसैले सपना देख्न सक्छ । यो त युवाहरूको हातको कुरो हो । मनभित्रको चाहनाको परिणती हो ।
भनिन्छ हामीले कलह र झगडालाई सदाकालागि पाखा लगाएर तिलाञ्जली दिन सक्नुपर्छ । झारपातलाई गोलमेल गरि सदाकालागि नष्ट गर्न सक्नु पर्छ । किनकि त्यहाँ फसल रोप्नु छ । मान्छे–मान्छे भएर शान्तिको बाटोमा लाग्नु छ । नत्र यो दुई दिनको जीवनमा के छ र ?मनमा कलुषित भावना राखी बाँच्नुको अर्थ के हुनसक्छ र ? त्यसैले कलह र झगडालाई परास्त गर्न यो आँखालाई मुर्दा जलाएको देखाउनु पर्छ । मन मस्तिष्कका पुरानो सोचहरूलाई हटाएर नयाँ सोचहरूको जन्म दिनुपर्छ । तब मात्र नयाँ कुराहरू पाउन सकिन्छ । तब मात्र नव पालुवाहरूको जन्महुन सक्छ । होइन भने यो मनभित्र झगडा र कलहको बीऊले ठाउँ ठाउँमा झारपातहरू भैंm झाँगिने छ । मनमा विकारहरूको जन्म भई मान्छेले मान्छेलाई चपाउने छ । शक्तिको नाउँमा युद्ध मचिने छ । मान्छेको रगतपिएर मान्छे आपैंm बाँच्ने छ । त्यसैले हामीहरूलाई शान्ति चाहिएको छ । आमूल परिवर्तन गर्नकालागि फुलबारीमा मालीले जस्तै गोडमेल गर्न सक्नु पर्छ । समयमा बोट–बिरुवाहरू रोपेर भविष्यकालागि खान योग्य बनाउनु पर्छ । तब मात्र देश विकास हुन सक्छ । तरुण गीत गाएर सदाकालागि निरन्तरता देखाउनु पर्छ । त्यसैले युगकवि सिद्धिचरण श्रेष्ठले आफ्नो जन्मभूमिलाई समृद्धि बनाउनकालागि युगको माग राख्दैछ । आज खाई नखाई भोकै बसेर पनि भोलिको लागि पेटभरी खाने बिचार पोख्दैछ ।
ती मक्किएका, ती सडेका, चाललाई दूर फाली ।
नयाँ आलोक पक्रन तम्सिरहेका पङ्खी हामी ।।
कलह झगडा झारपात गोडी नासी ध्वस्त पारी ।
विश्व शान्ति भित्र क्रान्ति रोपिरहेका माली हामी ।।
आज मुलुकले जनतालाई समृद्धि बनाउनकालागिआह्वान गर्दैछ । प्रचण्ड वेगले बढिरहेको धारमा हामीहरू सबैले साथ दिएर उभो लगाउनु छ ।यो अन्नपानीको शरीरमा म मात्र होइन, हामी सबैको जीवन सुखमय होस् भन्नाका लागि रोजगारीको सृजना गरी इमान, धर्मले आ–आफ्नो गुजरा चलाउनु छ । राजनीति मात्र होइन समानताको आधारमा आर्थिक विकास गरेर देशलाई झलमल बनाउन हामीले आफ्नै भाग्य कोरी अन्धकारलाई हटाउनु छ । शुभ र मंगलहोस् भन्नाकालागि हाम्रो पसिना मात्र होइन देशको लागि ज्यानको आहुती दिनु छ । त्यसैले म जग बनेर बसी दिउँला, तिमीहरू मेरो शरीर माथि पर्खाल लगाई देऊ । तिमीहरू माटो बनेर हेरी देउ हामी ढुङ्गा बनेर एक ढिक्को हुने छौं । म काठ बनेर हेरी दिउँला तिमीहरू चिसिएको बेला आगो ताप्ने गर । तिमीहरू पानी बनेर बगिदेऊ, हामीहरू तिर्खा लागेको बेला पिई दिऊला । किनकि हामीलाई सुख र समृद्धि चाहिएको छ । आँखाको नानी जस्तो बहुमूल्य रत्नभएर मेरो देश युगौं–युगसम्म बाँच्नु छ । सुखका धारहरू बगाई हामी नेपालीहरूलाई अमृत पिलाउनु छ । दुःख र दर्दलाई पन्छाएर सबैको मनलाई हरियो पार्नु छ । झारपातहरू उखलेर अन्नपातहरू रोप्नु छ । त्यसैले युगकवि सिद्धिचरण श्रेष्ठले तरुण गीत गाएर युवाहरूलाई जागरणको कुरा गर्दैछन् । मनमा असीमित माया भएर होला नेपाल आमाको जय जयकार गर्दैछन् ।
मुलुकको आह्वानमा जनताको समृद्धिमा ।
प्रचण्ड वेग साथली बढिरहेका धार हामी ।।
फार फार अन्धकार झल्ल देश पार ।
दुःख, दर्द फार फार ल्याऊ सुख धारा ।।
जिम्मेवारी बोक्न धेरै गाह्रो हुँदोरहेछ । थेग्नैनसक्ने भारी कतै बिसाउन नपाएर स्वाँ स्वाँ र फुवाँ फुवाँ गरी उकालो चढ्नकालागि यो शरीर मात्र होइन मन पनि धेरै गल्दो रहेछ । तागत टुटेर शक्तिहिन बनेपछि मान्छेले आफ्नो पाइला चाल्नपनि गाह्रो हुँदोरहेछ । त्यसैले स्वाँ स्वाँ फुवाँ फुवाँ गर्नु तागत बढाउनु हो । विश्वास जगाउनु हो । जिम्मेवारी पुरा गर्ने आँट देखाउनु हो । व्यायाम गरे जस्तै शक्ति संचय गर्नु हो । गाह्रो भारीलाई एकछिन विश्राम गरी आनन्द लिनु हो । त्यसैले भीर चढ्ने भरियालाई सोधेर हेर भारी बोक्दा कस्तो हुन्छ । अनि तिमीहरूले थाहापाउने छौ ।हामी त के छ र मद्दतगार न हो । यौटा भरोसाकालागि सानो टेको न हो । माटो र ढुङ्गालाई मिलाउन तरुणगीत गाउँने यौटा गाईने न हो । स्वाँ स्वाँ र फुवाँ फुवाँको कथा सुन्ने यौटा श्रवणकर्ता न हो ।
स्वाँ स्वाँ फुवाँ फुवाँ गरी गरी बोकी गह्रौ भार ।
भीर चढ्ने भरियाका हामी मद्दतगार ।।
तरुण गीत युवाहरूको गीतहो । यो गीत स्वच्छ मनले गाएपनि यो धरतीमा धेरै विकृतिहरूको विनाश हुने छ । धेरै सृष्टिका लहरहरू फैलिने छ । सिङ्गो एकताको प्रतीक बन्ने छ । झिल्को आगोको मुस्लो बन्दा सबैलाई एक एकमुठ्ठी ऊर्जा दिन सकिन्छ । त्यसैले तरुणगीत नयाँ शिक्षा हो । नयाँ सोच हो । नयाँ जिन्दगी हो । यौटा दियोले लाखौं दियो बालेर देशको समृद्धिका लागि आह्वान गर्ने छ । तसर्थ भारी गह्रौ छ । हामीहरूले यो युगदेखि अर्को युगसम्म बोक्नु छ । सधै असार पन्ध्र लागेर देशमा धानको बाला चढाएर लक्ष्मीको पूजा गर्न सकोस् । विश्वकर्मालाई सधैं नमन गरेर कामहरू पुरागर्न सकोस् । दया र मायाले सधैं बास बसेर सहयोगीका हातहरू बाँचिरहोस् । विकृतिहरूलाई सधैं कुल्चिएर स्वस्थ सभ्यतामा हामी नेपालीहरू हाँस्न सकौं ।

