नेपाली सेनाले कर्णाली करिडोरको खुलालु-लैफु-सलीसल्ला खण्डको सडक असार ३१ गते हस्तान्तरण गर्ने भएको छ। सो सडकको निर्माण कार्य सम्पन्न भएपछि सेनाले सडक विभाग अन्तर्गतकाे हिल्सा-सिमकोट सडक आयोजनालाई हस्तान्तरण गर्ने कार्यक्रम तय गरेको हो।
असार ३१ गते उक्त सडक हिल्सा-सिमकोट सडक आयोजनालाई हस्तान्तरण गरिने नेपाली सेनाको कर्णाली करिडोर सडक निर्माण कार्य दलका प्रमुख मिलन कार्कीले बताए। हाल उक्त खण्डमा यातायातका साधन सञ्चालनमा आउन थालिसकेका छन्।
कालिकोटको खुलालु, बाजुराको लैफ हुँदै हुम्ला जिल्लाका सलीसल्लासम्मको १२२ दशमलव ७५ किलो मिटर सडकको निर्माण कार्य सेनाले पूरा गरेकाे हाे।
निमार्ण भएको कुल सडक मध्ये हुम्ला खण्डमा ३८ दशमलव चार किलोमिटर सडक पर्छ। हिल्सा-सिमकोट सडक आयोजनाका योजना प्रमुख बिसुनदास लामाले हुम्ला खण्डको सडक हस्तान्तरण कार्यक्रममा सहभागी हुन पैदल मार्गबाट सलीसल्ला जान लागेको बताए।
सेनाले २०७० सालमा खुलालु लैफु हुँदै सलीसल्ला खण्डमा सडक निर्माणकाे काम सुरु गरेकाे थियाे। याे सडकबाट हुम्लाका ताँजाकोट, अदानचुली, चंखेली र सर्केगार्ड गाउँपालिका राष्ट्रिय सडक सञ्जालसँग जोडिएका छन्।
