काठमाडौँ: जारी स्थायी कमिटीको बैठक रोक्न माग गर्दैै बैठकस्थल पुगेका माधव नेपाल र झलनाथ खनाल पक्षका नेताहरुको मागलाई पार्टी अध्यक्ष केपी शर्मा ओलीले अस्विकार गरिदिएका छन् ।
बैठक रोकेर माधव नेपालसँग वान टु वान छलफलमा बस्न आग्रह गरे पनि ओलीले भने मानेन् । उनले बैठक नरोकिने भन्दै सञ्चालन गर्न निर्देशन दिएका थिए ।
“हामीले जारी स्थायी कमिटी र आजै बोलाइएको संसदीय दलको बैठक स्थगीत गरेर दुई नेता छलफलमा बस्नुस् भन्यौं । तर उहाँले मान्नु भएन,” नेपाल पक्षका नेता भीम रावलले भने, “हामीले चार बुँदे सुझाव पनि दिएका छौं ।”
एमालले आज दिउँसो ३ बजेका लागि संसदीय दलको बैठक बोलाएको छ । उक्त बैठक पनि नरोकिने ओलीले बताए । स्थायी कमिटी बैठक सकिए पछि संसदीय दलको बैठक बस्दैछ ।
बैठक स्थगनको माग गर्दै भिम रावल, घनश्याम भुसाल, गोकर्ण विष्ट, भीम आचार्य र सुरेन्द्र पाण्डे बैठक स्थल पुगेका हुन् । उनीहरु अहिले फर्किसकेका छन् ।

