मनसुनी वायुका कारण बुधबार देशको केही स्थानमा भारी वर्षा हुनसक्ने अनुमान गरिएको छ। मनसुनी न्यूनचापीय रेखा नेपालको तराई नजिक आइपुगेकाले देशभर सामान्यदेखि पूर्ण बदली रही प्रदेश नं १, २, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागका मौसमविद् सविना शाक्यले जानकारी दिइन्।
अबको दुई–तीन दिनसम्म देशमा मनसुन सक्रिय हुने भएकाले धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा हुनसक्ने र एक/दुई स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना देखिएको उनको भनाइ छ।
आज दिउँसो धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावन रहनुका साथै प्रदेश नं १, २, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशको एक/दुई स्थानमा मेघगर्जनसहित भारी वर्षाको सम्भावना रहेको बताइएको छ।
वर्षाका कारण पहाडी भूभागमा पहिरो तथा गेग्रान बहावको जोखिम रहेकाले नदीनाला र खहरे खोलामा पानीको सतह बढ्न सक्ने तथा यातायात क्षेत्रमा समेत असर पर्नसक्ने हुँदा सतर्कता अपनाउन आग्रह गरिएकोे छ।
