लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले पदबाट राजीनामा दिन लागेका छन्। राजीनामा पत्र बोकेर उनी प्रदेश प्रमुख अमिक शेरचनकहाँ गएका छन्।
सरकारका प्रवक्ता बैजनाथ चौधरीले मुख्यमन्त्रीको राजीनामाबारे केहीबेरमा पत्रकार सम्मेलन गरेर जानकारी गराउन लागेको बताए। यस्तै लुम्बिनी प्रदेश सभामा नेकपा एमालेका प्रमुख सचेतक रहेका भूमिश्वर ढकालले मुख्यमन्त्री पोखरेल राजीनामा दिन लागेको सेतोपाटीलाई बताए।
प्रदेश प्रमुख शेरचन कार्यालय बाहिर रहेकोले उनी आएपछि मुख्यमन्त्री पोखरेलले राजीनामा पत्र बुझाउने तयारी रहेको ढकालले बताए। मुख्यमन्त्री पोखरेलविरूद्ध विपक्षी गठबन्धनका सांसदहरूले अविश्वास प्रस्ताव दर्ता गरेका थिए। आज बस्ने प्रदेश सभा बैठकमा उक्त प्रस्तावमाथि छलफल छ। उक्त प्रस्ताव छलफल हुनुअगाडि नै मुख्यमन्त्री पोखरेलले राजीनामा दिन लागेका छन्।
लुम्बिनीमा एमालेका ३८ सांसद छन् भने विपक्षी गठबन्धनमा ४१ सांसद छन्। मुख्यमन्त्री पोखरेलले प्रदेश प्रमुखलाई राजीनामा बुझाएपछि पत्रकार सम्मेलन गर्ने तयारी छ।

