काठमाडौं: माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कांग्रेस नेतृत्वको सत्तागठबन्धनलाई आगामी चुनावसम्म लैजाने प्रस्ताव गरेका छन् ।
प्रचण्डले आगामी स्थानीय तहको निर्वाचनमा पार्टीलाई विजयी गराउने र संघीय एवं प्रादेशिक निर्वाचनमार्फत देशको नेतृत्वदायी शक्तिका रूपमा स्थापित गर्ने गरी संगठनात्मक कार्य अगाडि बढाउन पनि प्रस्ताव गरेका छन् ।
पार्टीको विचार, राजनीतिक कार्यदिशा, संगठनात्मक संरचना र विभिन्न तहको नेतृत्व निर्माणका लागि ११ देखि १३ पुससम्म राष्ट्रिय सम्मेलन आयोजना गर्ने प्रचण्डको प्रस्ताव छ ।
संघीय संसद्, प्रदेश सभा र स्थानीय तहका कामहरूलाई समन्वय गर्दै जनपक्षीय नीति निर्माणमा प्रभावकारी र योजनाबद्ध रूपमा परिचालन गर्ने प्रचण्डको प्रस्तावमा छ ।
प्रचण्डको विश्लेषण
राष्ट्रपतिमाथि आरोप : प्रधानमन्त्रीका असंवैधानिक अलोकतान्त्रिक, निरंकुश कदमलाई आँखा चिम्लिएर समर्थन गर्ने काम भयो । संविधानको संरक्षकबाट नै असंवैधानिक कार्यहरूमा पटक–पटक लालमोहर लगाउने प्रयास भयो । देउवालाई प्रधानमन्त्री नियुक्ति गर्नुको सट्टा संविधान र विधिको खिल्ली उड्ने गरी मध्यरातमा प्रतिनिधिसभा विघटन गर्नु प्रतिगमनकै दोसो शृंखला थियो ।
ओलीमाथि टिप्पणी : संघीय लोकतान्त्रिक गणतन्त्र, धर्म निरपेक्षता, समानुपातिक समावेशी लोकतन्त्र र सामाजिक न्यायसहितको संविधानवादउन्मुख संविधानमाथि तत्कालीन प्रधानमन्त्री ओलीबाट बारम्बार आक्रमण भयो । ओलीले आफ्नो दक्षिणपन्थी, संकीर्ण, व्यक्तिवादी, गुटवादी र फुटपरस्त गतिविधि गरे, जनताको सर्वोच्च संस्था प्रतिनिधिसभाको दोस्रोपटक विघटन गरेर निरंकुशता र प्रतिगमनको अझ नांगो रूप प्रदर्शन गरे ।
देउवा सरकारको गठन : माओवादीले प्रतिगमनविरुद्ध वाम–लोकतान्त्रिक शक्तिको संयुक्त मोर्चा निर्माण गरी अगाडि बढ्ने नीति लियो । वर्तमान वाम–लोकतान्त्रिक गठबन्धन सरकार यसैको पछिल्लो कडी हो । यस सरकारलाई विगतमा भएका सरकारहरूको हेरफेरका सामान्य घटनाका रूपमा बुझ्नु गल्ती हुनेछ ।
सरकारको काम : संघीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारको कामलाई जनताको भावनाअनुसार थप प्रभावकारी र व्यवस्थित बनाइनेछ । संघीय सरकारको साझा नीति तथा कार्यक्रमलाई प्रभावकारी ढंगले कार्यान्वयन गरिनेछ । संयुक्त सरकारमा पार्टीले आफ्नो स्वतन्त्र पहिचान र भूमिका स्थापित गर्ने सवाललाई विशेष महत्व दिनुपर्नेछ ।
गठबन्धनको कार्यभार : संविधानको रक्षा गर्ने, लोकतन्त्रलाई संस्थागत गर्ने, संघीयताको पूर्ण कार्यान्वयन गर्ने, प्रतिगमनलाई पूर्ण रूपले परास्त गर्ने, शान्ति–प्रक्रियाको बाँकी काम सम्पन्न गर्ने, राष्ट्रिय स्वाधीनताको रक्षा गर्दै देशलाई संवैधानिक एवं लोकतान्त्रिक बाटोमा हिँडाउने जिम्मेवारी छ । साथै, जनतालाई कोभिड महामारीबाट मुक्त गर्ने कार्यभार छ ।
नेकपा विघटन : तत्कालीन माओवादी केन्द्र र एमालेबीच भएको एकता वस्तुतः सही हुँदाहुँदै पनि ओली र उनको गुटमा देखापरेको अहंकार, दम्भ, पदलोलुपता, राष्ट्रिय आत्मसमर्पणवाद र दक्षिणपन्थी अवसरवादका कारण नेकपा विघटन हुन पुग्यो ।
चुनावसम्म गठबन्धन : ओलीको प्रतिगमनका विरुद्ध संघर्षकै क्रममा वाम–लोकतान्त्रिक गठबन्धन निर्माण भएको छ । अहिलेको लोकतान्त्रिक राजनीतिक प्रणाली, संविधान र राष्ट्रियताको रक्षा गर्दै देशमा आर्थिक समद्धि, स्थायित्व र सुशासन कायम गर्न निर्माण गरिएको गठबन्धनलाई आगामी निर्वाचनसम्म कायम राख्ने पार्टी नीति हुनेछ ।
वाम ध्रुवीकरण : समाजवाद निर्माणका लागि नयाँ क्रान्तिकारी विचार र नयाँ क्रान्तिकारी पार्टी निर्माण गरी भन्ने मूल ध्येयका साथ पार्टी निर्माणमा जुट्न आवश्यक छ । आफ्नै शक्तिमा भरपर्दै क्रन्तिकारी पार्टी निर्माण गर्ने र विचार मिल्ने वामपन्थी शक्तिसँग सहकार्य, मोर्चाबन्दी र ध्रुवीकरण गर्दै नेकपाको बिरासत र स्वामित्वसमेत पार्टीले लिनुपर्दछ ।
एमसिसी : एमसिसी, लिपुलेक, कालापानी र लिम्पियाधुराको प्रश्नलाई पार्टीको धोषित नीतिअनुसार कूटनीतिक संवादका माध्यमबाट हल गर्न प्रयत्न गरिनेछ ।
समाजवादउन्मुख अर्थराजनीति : तीन तहका सरकार र मिश्रित निर्वाचन प्रणाली अपनाएको राजनीतिक प्रणालीमा कुनै पनि राजनीतिक दल पूर्ण सत्तापक्ष वा पूर्ण विपक्ष हुँदैन । यस्तो अवस्थामा केन्द्रीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारले आफ्नो क्षेत्रभित्र समाजवादउन्मुख अर्थराजनीतिक कार्यक्रम बनाएर लागू गर्ने नीति लिनुपर्दछ ।-नयाँ पत्रीकाबाट

