काठमाडौै: रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन आयोजना गर्दै मंगलबार केन्द्रीय सदस्य बिष्णुजंग बस्नेतसहित १८ जना केन्द्रीय सदस्य र दुई जिल्ला सदस्यले जनता समाजवादी पार्टी (जसपा) यादव समूह परित्याग गर्ने घोषणा गरेका हुन् ।
पार्टी एकता गर्दा उपेन्द्र यादवको नेतृत्वमा रहेको संघीय समाजवादी फोरम नेपालले गरेको प्रतिवद्धतालाई लत्याउँदै केही व्यक्तिको प्राइभेट लिमिटेडका रूपमा चलाएको आरोप समेत उनीहरूले लगाएका छन् ।
पत्रकार सम्मेलनमा बोल्दै जसपाका केन्द्रीय सदस्य तथा भाडावाल सरोकार समाजका अध्यक्ष बिष्णुजंग बस्नेतले बाध्य भएर उपेन्द्र यादवको समूह परित्याग गरेको घोषणा गरे । उनले १८ महिना उपेन्द्र यादव उपप्रधान तथा स्वास्थ्यमन्त्री बनेर आफूले मात्र कमाएर जनतालाई केही नदिएको आरोप लगाए ।
बस्नेतले संघीय समाजवादी फोरम नेपाल र नयाँ शक्ति नेपालबीच एकता भएपछि अध्यक्ष यादवको रबैया बदलिएको र पार्टीको घोषित रूपमा लिएको पार्टी नीतिलाई उल्लघंन गर्न थालेको आरोप लगाए ।
बस्नेतले भने, ‘फोरमले लिएको सात क्लस्टरलाई तीन क्लस्टरमा वकालत गर्न थालियो ।’ २०६५ सालदेखि आफूले घरबेटीको अन्यायविरुद्ध बोल्दै आए पनि राज्यले आफ्नो कुरा नसुनेको बताए ।
कार्यक्रममा बोल्दै केन्द्रीय सदस्य पदम अधिकारीले २०७२ को संविधानलाई प्रतिगामी भन्दै ६ महिना लामो आन्दोलन गरेर पुनर्लेखन गर्ने प्रतिबद्धता गरेको भए पनि बाबुराम भट्टराईसँग पार्टी एकता भएपछि उत्कृष्ट संविधान भन्न थालेको उनले आरोप लगाए ।
केन्द्रीय सदस्य हिरालाल भुजेलले बाबुराम र उपन्द्रको एकलौटी रबैयाले केही नेताले १६ जनाको संसदीय दल भएकोमा १३ जनाले पार्टी विभाजन गर्न लागेको अवस्थामा २०७७ साल वैशाख १० गते राति १२ बजे तत्कालीन राजपा नेपालसँग पार्टी एकता गरी जसपा नेपाल गठन गरी विभाजन रोक्न सफल भएको बताए ।
