काठमाडौं: प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले प्रधानमन्त्रीले विश्वासको मत प्राप्त गरे वा नगरेको परिणाम संसद्मार्फत राष्ट्रपति कार्यालय जाने हो कि सिधै प्रधानमन्त्री राष्ट्रपतिकहाँ जाने भनेर प्रश्न गरेका छन् ।
प्रतिनिधिसभा विघटनविरुद्ध शेरबहादुर देउवालगायत १ सय ४६ सांसदले दायर गरेको मुद्दाको संवैधानिक इजलासमा सुनुवाइका क्रममा मंगलबार प्रधानन्यायाधीशले नायब महान्यायाधिवक्ता पद्मप्रसाद पाण्डेयलाई सोधे, ‘प्रधानमन्त्रीले विश्वासको मत प्राप्त गर्ने र नगर्ने भन्ने त संसद्मार्फत जाने होइन र ? विश्वासको मतको परिणाम त संसद्मार्फत जाने होइन र ? छलेर जान मिल्छ ?’
विश्वासको मत व्यक्त गर्ने ठाउँ कहाँ हो भनेर पनि प्रधानन्यायाधीश जबराले पाण्डेयलाई सोधेका छन् । कसमार्फत प्रधानमन्त्रीले विश्वासको मत प्राप्त गरेको वा नगरेको परिणाम राष्ट्रपतिकहाँ जाने भनेर जबराले प्रश्न गरेका हुन् ।
पाण्डेयले संविधानको धारा ७६ को उपधारा ३ को प्रधानमन्त्रीले उपधारा ४ बमोजिम विश्वसको मत प्राप्त गर्ने आधार नदेखेमा राष्ट्रपतिकहाँ गएर मार्गप्रशस्तिको निर्णय सुनाउने र धारा ७६ को उपधारा ५ बमोजिमको प्रधानमन्त्री नियुक्तिका लागि प्रक्रिया अगाडि बढाउन सिफारिस गर्ने तर्क गरेका थिए ।
