काठमाडौं: चीनको दक्षिण पश्चिममा निर्माण गरिएको विश्वकै दोस्रो ठूलो जलविद्युत् आयोजनाबाट सोमबार विद्युत् परीक्षण उत्पादन सुरु भएको छ ।
याङ्सी नदीको सहायक नदीका रुपमा रहेको जिन्सा नदीमा निर्माण गरिएको बाइहेटान बाँधबाट विद्युत् उत्पादन हुन थालेको छ ।
जैविक इन्धनको खपत कम गरी वैकल्पिक र जलविद्युत् उत्पादनमार्फत विद्युतको माग पूरा गर्ने चीनको योजना बमोजिम चीनमा ठूला जलविद्युत् गृहहरु निर्माण भइरहेका छन् ।
यद्यपि जलविद्युत् उत्पादनका लागि ठूला बाँध बनाउँदा पर्यावरणीय क्षतिमा चीनले पर्याप्त ध्यान नदिएको आरोप लाग्ने गरेको छ ।
सन् १९२१ मा चिनियाँ कम्युनिष्ट पार्टीको स्थापनाको एक सयौं वर्ष यसै साता मनाउने अवसरमा नयाँ विद्युत् गृह निर्माणको घोषणा भएको छ ।
बाइहेटान बाँधको उचाइ २८९ मिटर अग्लो हुनेछ र १० लाख किलोवाट क्षमताका १६ वटा विद्युत् उत्पादन जेनेरेटर जडान हुनेछन् ।
यो सन् २००३ मा चीनको याङ्सी नदीमै निर्मित थ्री गर्जेज बाँधपछिको दोस्रो ठूलो हो । थ्री गर्जेजको विद्युत उत्पादन क्षमता दुई करोड २५ लाख किलोवाट रहेको छ ।

