काठमाडौं: बुधबार साँझ मेयर चौधरीको कार्यकक्षमा तालाबन्दी गरेको नेपाली कांग्रेसले स्थानीय नेता, कार्यकर्ताहरुसहित बिहीबार बिहानै उपमहानगरपालिका घेराउ गरेको हो ।
बुधबार दिउँसो इटहरी ४ आइतबारेका यामप्रसाद ढकाललाई प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा थुनेर मेयर चौधरी हिँडेको र साँझ इटहरी प्रहरीले उनको उद्धार गरेको कांग्रेसको आरोप छ ।
ढकालले ऐलानी जग्गा मिचेर घर बनाएको र नक्सा पाससमेत नगरेको भन्दै मेयर चौधरीले बुधबार दिउँसो कार्यालयमा बोलाएका थिए ।
सो क्रममा चौधरीले सात दिनभित्र भत्काउने लिखित गर्न भनेको तर आफूले नमानेको ढकालले बताए ।
‘मैले नमानेपछि थुन्देऊ भनेर मेयरले नगर प्रहरीलाई अह्राउनुभयो र थुनेर हिँड्नुभयो,’ उनले भने ।
ढकालले आफूलाई दुई घण्टादेखि थुनिएको विषयमा जानकारी गराएपछि नेपाली कांग्रेस नगरसभापति हेमकर्ण पौडेललगायतको समूह उपमहानगरपालिका पुगेको थियो । पछि प्रहरीको सहयोगमा उनलाई निकालिएको हो।

