राजेन्द्रमान डङ्गोल
सन् २०१५ अप्रिलको पहिलो हप्ता ।
त्यो बिहान सगरमाथालाई आँखाले छुनुअघि नै मनमा एउटा असीम स्वाभिमानको लहर उर्लिएको थियो– आफ्नै देशको शिरमा उभिन लागेको, त्यसलाई नजिकबाट नियाल्न लागेको गर्व । खुसीको सागर मनभित्र उर्लियो, जसको कुनै किनारा थिएन । सगरमाथाझैँ अटल भएर म निकैबेर उभिरहेँ ।
पहाड आफैँमा सुन्दर हुन्छ, अवलोकनका निम्ति– प्रकृतिले कुँदेको एक विशाल कलाकृति । तर त्यसैले जीवनलाई कठिन पनि बनाइदिएको हुन्छ, मानौँ भाग्यले रचेको परीक्षाको मैदान । त्यो पहाडसँग सङ्घर्ष गर्नेहरूको जीवनको दैनिकी थियो । आफ्नो गरिबीको पहाडलाई छिचोल्न सुदूरपूर्वदेखि नाम्चेको उकालो चढ्दै थिए उनीहरू, आफैँप्रति निर्मम भएर । उनीहरूको आँखामा सगरमाथा केवल रोजीरोटीको माध्यम मात्र थिएन, त्यो उनीहरूको अस्तित्व र पहिचानसँग जोडिएको, कठिन परिस्थितिसँग जुध्ने स्वाभिमानको प्रतीक पनि थियो । आफ्नो ज्यानलाई धितो राखेर केवल सन्तानका मुहारमा खुसीको इन्द्रेणी जगाउने उनीहरूको अथक प्रयास थियो त्यो ।
पछाडि फर्केर हेर्दा दूधकोशीमा भोटेकोशी मिसिएको ठाउँ देखिन्छ । लार्चे दोभान, जहाँ दूधकोशी र भोटेकोशी, दुई बिछोडिएका प्रेमीझैँ अँगालोमा बाँधिएर एउटै अस्तित्वमा विलीन हुन्थे । दुई दिनअघि तरेको झोलुङ्गे पुलमा जोक्पेहरू पिठ्यूँमा भारी बोकेर एक अनुशासित सिपाहीको लस्करझैँ लाइन लागिरहेका थिए ।
त्यही दृश्य देखाएँ मैले स्याजेनलाई ।
उनले भने, “वी डिड अ ग्रेट जब ।”
त्यो गहिराइ देख्दा लाग्थ्यो– ‘त्यति ठूलो उकालो, मानौँ पातालबाट आकाश छुन उक्लिएझैँ, कसरी पो चढेछौँ !’ हरेक कठिन पाइलामा, आँखाले पर देखिने सगरमाथाको धमिलो आकृतिलाई पछ्याउँथ्यो, र मनमा एउटा अदम्य स्वाभिमान जाग्थ्यो– यो हाम्रो हिमाल हो, यसलाई चुम्नु हाम्रो सपना हो ।
थामसेर्कु र आमादब्लम नजिकिँदै आए, स्वागत गर्न आतुर आत्मीयजनझैँ । ल्होत्से र नुप्से परैबाट मुस्कुराइरहेझैँ लाग्थे । त्यसैको पछाडिबाट चियाउँदै थियो हामीलाई सगरमाथाले, एक शान्त तेजस्वी अधिष्ठात्रीझैँ । बादलको घुम्टोबाट उसको मौन आकर्षणले हाम्रो आत्मा तानिरहेको थियो, आँखाले त्यही विराटतालाई कैद गर्न खोजिरहेथ्यो ।
नजरभरि पाखैपाखा, भीरैभीर । प्रकृतिको विशाल क्यानभासमा कुँदिएका अनगिन्ती आकृति । नयनहरू नथाकी ओल्लो डाँडा र पल्लो डाँडा डुलिरहे । फूलका राता, सेता र गुलाबी रङहरू, बस्तीहरूका छानाका हरिया र नीला रङहरूले मन लोभ्याइरहेका थिए, मानौँ रङहरूको उत्सव चलिरहेको थियो । घुम्तीसँगसँगै रमाइला बस्ती पार हुँदै गए । याङ्जीमा र सानासा देखिए । परको थुम्कामा टुपुक्क उभिएको थियो तेङ्बोचे गुम्बा, आकाशलाई स्पर्श गर्न खोज्दै । हिमाली सौन्दर्यमा कुनै कमी थिएन, प्रकृतिको उदारता छताछुल्ल पोखिएको थियो । यो अनुपम दृश्य आँखामा सजाउँदा, मनमा आफ्नै देशको प्राकृतिक सम्पदाप्रतिको गौरवबोध हुन्थ्यो ।
फुङ्की टेङ्गामा खाना खाएर, ज्यानलाई ठाउँठाउँमा आराम दिँदै पट्यारलाग्दो उकालो, मानौँ अनन्त सिँढीहरू, चढेपछि करिब तीन बजेतिर हामी तेङ्बोचे पुग्यौँ ।
“३,८७० मिटरको उचाइमा पनि यति फराकिलो थली !” स्याजेनले आश्चर्य माने, उसको आवाजमा विस्मयको प्रतिध्वनि थियो ।
थलीको एक छेउमा उभिएको छ, दावा छोलिङ अर्थात् तेङ्बोचे गुम्बा । खुम्बु क्षेत्रकै सबैभन्दा ठूलो गुम्बा । सिङ्गोे खुम्बुकै आध्यात्मिक मुटु । यो नहुँदो हो त तेङ्बोचे यति सुन्दर कहाँ देखिन्थ्यो र ! तेङ्बोचेको त्यो शान्त वातावरण र शेर्पाहरूको अटल आस्था देख्दा, आँखाले केवल गुम्बा र हिमाल मात्र होइन, हाम्रो समृद्ध संस्कृति र परम्पराको स्वाभिमान पनि अनुभव गरिरहेको थियो ।
त्यो बिहान सगरमाथालाई आँखाले छुनुअघि नै मनमा एउटा असीम स्वाभिमानको लहर उर्लिएको थियो– आफ्नै देशको शिरमा उभिन लागेको, त्यसलाई नजिकबाट नियाल्न लागेको गर्व । खुसीको सागर मनभित्र उर्लियो, जसको कुनै किनारा थिएन । सगरमाथाझैँ अटल भएर म निकैबेर उभिरहेँ ।
पहाड आफैँमा सुन्दर हुन्छ, अवलोकनका निम्ति– प्रकृतिले कुँदेको एक विशाल कलाकृति । तर त्यसैले जीवनलाई कठिन पनि बनाइदिएको हुन्छ, मानौँ भाग्यले रचेको परीक्षाको मैदान । त्यो पहाडसँग सङ्घर्ष गर्नेहरूको जीवनको दैनिकी थियो । आफ्नो गरिबीको पहाडलाई छिचोल्न सुदूरपूर्वदेखि नाम्चेको उकालो चढ्दै थिए उनीहरू, आफैँप्रति निर्मम भएर । उनीहरूको आँखामा सगरमाथा केवल रोजीरोटीको माध्यम मात्र थिएन, त्यो उनीहरूको अस्तित्व र पहिचानसँग जोडिएको, कठिन परिस्थितिसँग जुध्ने स्वाभिमानको प्रतीक पनि थियो । आफ्नो ज्यानलाई धितो राखेर केवल सन्तानका मुहारमा खुसीको इन्द्रेणी जगाउने उनीहरूको अथक प्रयास थियो त्यो ।
पछाडि फर्केर हेर्दा दूधकोशीमा भोटेकोशी मिसिएको ठाउँ देखिन्छ । लार्चे दोभान, जहाँ दूधकोशी र भोटेकोशी, दुई बिछोडिएका प्रेमीझैँ अँगालोमा बाँधिएर एउटै अस्तित्वमा विलीन हुन्थे । दुई दिनअघि तरेको झोलुङ्गे पुलमा जोक्पेहरू पिठ्यूँमा भारी बोकेर एक अनुशासित सिपाहीको लस्करझैँ लाइन लागिरहेका थिए ।
त्यही दृश्य देखाएँ मैले स्याजेनलाई ।
उनले भने, “वी डिड अ ग्रेट जब ।”
त्यो गहिराइ देख्दा लाग्थ्यो– ‘त्यति ठूलो उकालो, मानौँ पातालबाट आकाश छुन उक्लिएझैँ, कसरी पो चढेछौँ !’ हरेक कठिन पाइलामा, आँखाले पर देखिने सगरमाथाको धमिलो आकृतिलाई पछ्याउँथ्यो, र मनमा एउटा अदम्य स्वाभिमान जाग्थ्यो– यो हाम्रो हिमाल हो, यसलाई चुम्नु हाम्रो सपना हो ।
थामसेर्कु र आमादब्लम नजिकिँदै आए, स्वागत गर्न आतुर आत्मीयजनझैँ । ल्होत्से र नुप्से परैबाट मुस्कुराइरहेझैँ लाग्थे । त्यसैको पछाडिबाट चियाउँदै थियो हामीलाई सगरमाथाले, एक शान्त तेजस्वी अधिष्ठात्रीझैँ । बादलको घुम्टोबाट उसको मौन आकर्षणले हाम्रो आत्मा तानिरहेको थियो, आँखाले त्यही विराटतालाई कैद गर्न खोजिरहेथ्यो ।
नजरभरि पाखैपाखा, भीरैभीर । प्रकृतिको विशाल क्यानभासमा कुँदिएका अनगिन्ती आकृति । नयनहरू नथाकी ओल्लो डाँडा र पल्लो डाँडा डुलिरहे । फूलका राता, सेता र गुलाबी रङहरू, बस्तीहरूका छानाका हरिया र नीला रङहरूले मन लोभ्याइरहेका थिए, मानौँ रङहरूको उत्सव चलिरहेको थियो । घुम्तीसँगसँगै रमाइला बस्ती पार हुँदै गए । याङ्जीमा र सानासा देखिए । परको थुम्कामा टुपुक्क उभिएको थियो तेङ्बोचे गुम्बा, आकाशलाई स्पर्श गर्न खोज्दै । हिमाली सौन्दर्यमा कुनै कमी थिएन, प्रकृतिको उदारता छताछुल्ल पोखिएको थियो । यो अनुपम दृश्य आँखामा सजाउँदा, मनमा आफ्नै देशको प्राकृतिक सम्पदाप्रतिको गौरवबोध हुन्थ्यो ।
फुङ्की टेङ्गामा खाना खाएर, ज्यानलाई ठाउँठाउँमा आराम दिँदै पट्यारलाग्दो उकालो, मानौँ अनन्त सिँढीहरू, चढेपछि करिब तीन बजेतिर हामी तेङ्बोचे पुग्यौँ ।
“३,८७० मिटरको उचाइमा पनि यति फराकिलो थली !” स्याजेनले आश्चर्य माने, उसको आवाजमा विस्मयको प्रतिध्वनि थियो ।
थलीको एक छेउमा उभिएको छ, दावा छोलिङ अर्थात् तेङ्बोचे गुम्बा । खुम्बु क्षेत्रकै सबैभन्दा ठूलो गुम्बा । सिङ्गोे खुम्बुकै आध्यात्मिक मुटु । यो नहुँदो हो त तेङ्बोचे यति सुन्दर कहाँ देखिन्थ्यो र ! तेङ्बोचेको त्यो शान्त वातावरण र शेर्पाहरूको अटल आस्था देख्दा, आँखाले केवल गुम्बा र हिमाल मात्र होइन, हाम्रो समृद्ध संस्कृति र परम्पराको स्वाभिमान पनि अनुभव गरिरहेको थियो ।
छन् त यहाँ हाब्रे, कस्तुरी, मृग, बँदेल र स्याल पनि, परन्तु अहिलेसम्म तिनीहरूसँग जम्काभेट भएको छैन, सायद उनीहरू प्रकृतिको काखमा अझै लुकेका छन् ।
केहीबेरमै दिबोचे पुग्यौँ– पर्यटकहरूको अर्को एउटा सुन्दर बिसाउनी, यात्राको थकान मेटाउने शीतल छहारी । अलिकति दृश्यको कमी भएर मात्र हो, नत्र बस्नका लागि तेङ्बोचेभन्दा राम्रा होटलहरू छन् यहाँ, यद्यपि अलिकति महँगा । कोठाको पैँतीस सयसम्म पर्छ । यति विकट ठाउँमा महँगो नहुने कुरै भएन ! ‘इलेक्ट्रिक क्विल्ट’ समेत उपलब्ध गराइदिन्छन् । सुविधा दिएअनुसारको भाडा त लगानी गर्नेले लिनै प¥यो नि !
इम्जा खोला तरेर दिङ्बोचे नपुगुन्जेल त्यसैको किनारैकिनार हिँड्नुपर्छ, खोलाको कलकल आवाज पथप्रदर्शक सङ्गीतझैँ । खोलाको नजिक पुग्नेबित्तिकै आमादब्लम हिमाल आँखामा ठोक्किन आइपुग्छ, एक स्नेहिल अभिभावकझैँ । आमादब्लम हेर्दै, पाइला चाल्दै – यो पो हो त पदयात्राको मजा ! चट्टानी पहरामा, पेन्टिङ गरेको थाङ्काालाई थपक्क राखेजस्तै गरी गुरु रिम्पोछेको सुन्दर चित्र बनाइएको छ र लेखिएको छ, उही बौद्ध मन्त्र– आस्थाको जीवन्त प्रमाण ।
कस्तो जाँगर !
शेर्पाहरूको आफ्नो धर्मप्रतिको आस्थालाई सम्मान गर्नैपर्छ । देख्नेबित्तिकै ‘ॐ मणि पद्मे हुँ’ नगुन्गुनाइ रहन सक्दिनँ म, त्यो ध्वनि हृदयबाटै फुत्किन्छ ।
बढ्दो उचाइ र घट्दो अक्सिजनको मात्रा – शरीर र प्रकृतिको द्वन्द्व । पाङ्बोचे पुगेपछि ट्री लाइन सकिने भएकोले पदयात्रीहरूलाई लेक लाग्न सुरु हुन्छ । अघिल्लो पटक आउँदा आफैँलाई टाउको दुखेको याद आयो । फेरि शरीरबाट नुनिलो पानी, परिश्रमको प्रमाण, निस्केको निस्क्यै छ । पसिनाका सेता घेराहरूले कपडामा बुट्टा भरिसकेका थिए । अक्सिजन पातलिँदै जाँदा सास फेर्न गाह्रो हुन्थ्यो, तर मनमा बलिरहेको स्वाभिमानको ज्वालाले शरीरलाई ऊर्जा दिइरहेको थियो; आँखाले सगरमाथाको सपना देखिरहेको थियो । सुरुदेखि नै डायमोक्स सेवन गरेकाले होला, सिङ्गोपुरेहरूलाई केही भएको छैन । यथार्थमा, नाम्चेमा जन्मिएर हुर्केको व्यक्ति सगरमाथाको शिखरमा पुग्दा जति सापेक्षिक उचाइको अनुभव गर्छ, समुद्र सतहबाट आएको मान्छेले दिङ्बोचे पुग्दा शारीरिक अनुकूलनका हिसाबले त्यति नै अनुभव गरिसकेको हुन्छ ।
दिनको १२ बजेपछि हावाले नराम्ररी अँठ्याउन थाल्छ – कहिले पछाडिबाट त कहिले अगाडिबाट, त्यो उद्दण्ड हावा, मानौँ कुनै अदृश्य दैत्य थियो, जसले हाम्रो सङ्कल्पको किल्ला नै भत्काउन खोजिरहेको थियो । एक पटक विद्यार्थीहरूको समूह लिएर पदयात्रा गर्न आएका ट्रिनिटी कलेज, हार्टफोर्डका प्रोफेसर माइकल लेच्जलाई इबीसीबाट फर्केर फेरिचे आइपुग्दा यही हावाले निर्ममतापूर्वक लडाएदेखि नै मैले यहाँको हावालाई चिनेको हुँ । मैले मनमनै भनिरहेको थिएँ, ‘साले हावा ! सक्छस् भने अझै देखा शक्ति ! तेरो तुजुकलाई जाँच्दै छु, म पनि ।
मेरो आँखामा सगरमाथा छ र मनमा स्वाभिमान !’
हावा नचले हुन्थ्यो भनेर पनि के भन्नु ! हावा नचल्ने हो भने यहाँ लागेको घाम, आगोको ज्वालाझैँ, सहन पो कहाँ सकिन्छ र ! फेरि घाम पनि नलाग्ने, हावा पनि नचल्ने हो भने हिमाल पनि देख्न पाइँदैन नि, सपनाको मूर्ति नै ओझेल पर्छ । ‘सह्यो कि रह्यो’ भन्छन् । सहनु नै रहेछ उपाय । म मौनतामा डुब्दै थिएँ, प्रकृतिको विशालतामा हराउँदै ।
दुई घन्टा हिँडेपछि अन्ततः देखा प¥यो, दिङ्बोचे । आहा, क्या सुन्दर बस्ती! चारैतिर हिमालहरूले घेरिएको, छुट्टै संसारझैँ, मानौँ स्वर्गको एक टुक्रा धर्तीमा खसेको होस् । माथि ५,००० मिटरको नार्कान्स्र्यास्ङ डाँडा, त्योभन्दा मुनि श्वेत स्तूप । यस्तो लाग्छ – शिरमा नार्कान्स्र्यास्ङको शिरफूल र नाकमा सेतो स्तूपको नाकफुली सजाएर टुसुक्क बसेको छ दिङ्बोचे, हिमालहरूको विशाल आँगनमा फुल्न आएको एउटा दुर्लभ पुष्पझैँ ।
नार्कान्स्र्यास्ङ पहाडलाई देखाउँदै मैले भनेँ, ‘उचाइसँग घुलमिल हुन, शरीरलाई हिमालको हावासँग अभ्यस्त गराउन, पदयात्रीहरू त्यहाँसम्म पुग्छन् । तर हामीसँग जगेडा दिन नभएकोले त्यहाँ जान सक्दैनौँ ।’
डिलमा बसेर छुकुङ भ्यालीसम्म नजर फिँजाएपछि मात्र हामी दिङ्बोचे ओर्लियौँ, मनमा नयाँ ऊर्जा सँगालेर
अर्को दिन बिहान धर्तीले रङ फेरिसकेछ, मानौँ प्रकृतिले रातारात कुनै निर्मल उत्सव मनाएकी होस् । खैरा पहाडका थुम्काहरू पूरै सेताम्मे थिए, हिउँको सेतो तान ओढेर । हिउँ फुरफुराइरहेको थियो, आकाशबाट झरेका रुवाका नरम भुवाजस्तै । होटलको आँगनमा छानाबाट खसेको हिउँले सानो पहाड नै बनिसकेको थियो । बाहिर निस्केर चारैतिर आँखा डुलाएँ । अघिल्लो दिन देखिएका गोरेटा, खाल्डाखुल्डी र बुट्यानहरू पूरै हिउँले छोपिएर सम्मिएका थिए, एक समथर चाँदीको मैदानझैँ ।
मनमा लागिरहेको थियो– ‘आज बेसरी रमाउने भए सिङ्गोपुरेहरू, उनीहरूको जीवनको एक अविस्मरणीय क्षण हुनेछ यो ।’
ब्रेकफास्ट गरुन्जेल पनि फिसफिसे हिउँ पर्ने क्रम रोकिएन । मौसमको भर हुँदैन भनेको यही हो– कहिले घाम, कहिले पानी, प्रकृतिको लिला अपरम्पार । कतै आज दिङ्बोचेमै बस्नुपर्ने त होइन! मेरो मनमा सुर्ताको बादल मडारिन थाल्यो ।
मैले होटलवालासँग सोधेँ, “हिउँ त बाक्लै प¥यो । हामी आज लोबुचे जान सक्छौँ त?”
“लामो समयपछि हिउँ परेको छ । जमिन तातो भएको बेलामा हिउँ पर्दा भिरालो ठाउँमा सोहोरिएर आउन सक्छ, लुकेको खतराझैँ । आज यतै बसेर भोलि मात्र गए हुन्छ,” उनले सल्लाह दिए ।
उनको कुरा गलत थिएन । तर दिङ्बोचेमा दुई रात बस्दा इबीसी गएर समयमै काठमाडौँ फर्कन सक्ने अवस्था थिएन, समय हाम्रो नियन्त्रणभन्दा बाहिर थियो ।
लाल भन्दै थिए, ‘होटलवालाले त यहीँ बस भनिहाल्छ नि ! उसको व्यापारी नीति हो । एकछिन हेरौँ न ! भर्खर त आठ बजेको छ, दिनको मुहार उज्यालो हुँदैछ ।’
समय नघर्किसकेकोले म पनि ‘पर्ख र हेर’ कै अवस्थामा थिएँ ।
विस्तारैै–विस्तारैै घामको किरणले बादल छेडेर हिउँले लिपिएको धर्ती चुम्न आइपुग्यो, आशाको पहिलो किरणझैँ । पदयात्रीहरू उभो लाग्न थाले । होटलमा बसेका अरू पनि निस्कन थालेपछि हामी पनि लाग्यौँ । हिउँबाट परावर्तित भएर आउने घामका किरणबाट बच्न गालामा मज्जाले सनस्क्रिन दल्यौँ, सनग्लास लगायौँ र दिङ्बोचेसँग बिदा लियौँ, मनमा अनेक सम्झना बोकेर ।
पदयात्रीहरूको लर्को उकालो लाग्यो, कमिलाको ताँतीझैँ । लालले अगाडि बढेर छुट्टै मार्ग कोर्दै गए । हामी उनकै पाइला पछ्यायौँ । हिउँमा टेक्न पाउनु सिङ्गोपुरेहरूका लागि नयाँ अनुभव थियो, बालबालिकाझैँ उत्साहित । बिछट्टै खुसी थिए उनीहरू ।
४,६०० मिटरको उचाइमा पुगेपछि लोबुचे देखियो । पुमोरीले शिर मात्र देखाएको थियो, लजालु दुलहीझैँ ।
अलि ढिलो हुने भएर मात्र हो, नत्र हिउँमा हिँड्नुको मज्जै बेग्लै ! घामको रापले हिउँ पग्लिँदै गएर हिँडाइ सुस्त भएकोले दुई घण्टामा पुगिने थुक्ला पुग्न तीन घन्टा लाग्यो । हिउँले भिजेर जुत्ता, खुट्टामा बाँधिएका ढुङ्गाझैँ भारी भइसकेको थियो ।
सबैका हालत उस्तै ।
अरू बेला लोबुचे नै पुगेर लन्च गरिन्थ्यो तर यो पटक सकिने छाँट देखिएन ।
“लेट्स ह्याभ लन्च हियर !” मैले प्रस्ताव राखेँ ।
भोको पेटले बाँसुरी बजाउन सुरु गरिसकेको रहेछ । उनीहरूले तुरुन्तै स्वीकार गरे ।
थुक्लाको होटलमा खाना खानेहरूको भीड थियो । सजिलोका लागि सबैले एउटै खाना अर्डर ग¥यौँ– दालभात, पहाडको अमृत ।
‘उठ् जोगी फड्कार छाला, जहाँ जाला भातै खाला’ भनेझैँ दालभात खाएर ढुङ्गेन बगरको क्रमिक उकालोमा कदम बढायौँ ।
थुक्लाबाट लोबुचे साढे तीन किलोमिटर मात्र हो । तर उचाइले गर्दा पाइला सार्न कठिन भएपछि बाटो, अनन्त यात्राझैँ, टाढा लाग्दो रहेछ । अघि थुक्लापारिबाट हेर्दा तेर्सो उकालो जस्तो देखिएको बाटो पनि ठाडै उकालो जस्तो लाग्दै थियो । चीन र जापानजस्ता देशको हातमा नेपाल परेको भए! इबीसीमा उहिल्यै रेल आइसक्थ्यो होला । हामी ट्रेकिङको साटो टुर चलाइरहेका हुन्थ्यौँ । कल्पनाको बैशाखी टेकेर उकालिँदै थिएँ म ।
ठाउँठाउँमा भएका बिसौनी पनि हिउँभित्रै दबिएका थिए । हामीले उभिएरै थकाइ मा¥यौँ ।
यतिखेर हामी खुम्बु हिमनदीको क्षेत्रमा प्रवेश गरिसकेका थियौँ, समय जमेको भूमिमा । छेउछाउका थुम्काहरूमा बौद्ध झन्डाहरू फर्फराइरहेका थिए, शान्तिको सन्देश फैलाउँदै । सगरमाथा आरोहणमा ज्यान गुमाएकाहरूका शिलालेखहरू पनि भेटिन्छन् यहाँ, पत्थरमा कुँदिएका अमर स्मृतिहरू । थुप्रै आरोहीहरू यसरी नै सम्झना बनेर बाँचिरहेका छन् ।
धन्न, सिङ्गोपुरेहरू हिँडिरहेकै छन् । खुसीको कुरा, अहिलेसम्म उनीहरूलाई टाउको दुख्ने जस्ता समस्याले छोएको छैन ।
मैले उनीहरूलाई सोधेँ, “हाउ आर यू फिलिङ?”
पदयात्रा सुरु गरेदेखि नै डायमोक्स सेवन गरेकाले सजिलो भएको हुनुपर्छ भन्ने मेरो ठम्याइ थियो ।
सबैबाट एउटै जवाफ आयो, ‘फिलिङ गुड !’
गन्तव्य त्यति टाढा नभए पनि उचाइका कारण मैले उनीहरूलाई विस्तारैै, लामो सास फेर्दै हिँड्न सुझाएँ ।
जोक्पेका हुललाई साइड दिँदै हामीले यात्रालाई निरन्तरता दियौँ । विकट ठाउँमा हिँड्नु जोक्पेहरूको बाध्यता र हाम्रो रहर!
हामी हिमालहरूको विशाल सञ्जालभित्र पुगिसकेका थियौँ, देवहरूको क्रीडास्थलमा । हिजोअस्ति टाढाबाट देखिएका सबै हिमालहरू आँखाअगाडि नजिकिँदै थिए र मुस्कान फ्याँकिरहेका थिए – लोबुचे वेस्ट र इस्ट, लिङ्ट्रेन, खुम्बोत्से, फोकाल्दे, ल्होत्से (८,५१६ मि.), ल्होत्से सार, नुप्से, पुमोरीको टुप्पो, चोलात्से ।
यतै हिमाल, उतै हिमाल !
नाङ्गा र उजाड पहाडहरूले पनि अघिल्लो रात परेको हिउँको मजेत्रो ओढेर भेष बदलिसकेका थिए, दुलहीझैँ सिँगारिएर । कतिलाई मात्र हेर्नु! वास्तवमा, म हिमाल हेरेरै पागल भइसकेको थिएँ, मेरो आत्मा प्रकृतिको त्यो विराट स्वरूपमा लीन भएको थियो । आँखामा हिमालको साम्राज्य थियो, र मनमा त्यही साम्राज्यको नागरिक हुनुको स्वाभिमान ।
०००
लोबुचेमा भरियाहरू डाइनिङ हलमा बसेको होटलवालाहरूलाई मन पर्दैन । एउटा गाइडसँग भरिया पनि सँगै बसेछ । होटलवाला गाइडसँग आक्रामक भएर चिच्याउँदै थिए, “तलाई थाहा भएर पनि यसो गर्ने ? तैँले हेपिरा’छस् । के ठान्छस् ? तिमी पनि जा । गेस्टलाई पनि लैजा !”
बिचरा गाइड विनम्रताका साथ भन्दै थिए, ‘मेरो पोर्टर एकछिन बसेको मात्र हो । ऊ खान र सुत्न सेल्टरमै जान्छ ।’
तैपनि होटलवालाको तातेको पारो सेलाएको थिएन । उनी भुत्भुताइरहेका थिए, उनको आवाजमा अपमानको झल्को थियो ।
मलाई नमज्जा लाग्यो । देख्नेहरू सबै अवाक् थिए, मौन दर्शक बनेर । गाइड पाहुना नभए पनि होटलका लागि पाहुना ल्याइदिने व्यक्ति त हो नि ! नेपाली संस्कारमा पाहुनाजस्तो मान्छेलाई यसरी हप्काएको सुहाउँदैनथ्यो । सायद शेर्पाहरूको आफ्नै संस्कारविपरीत थियो, उनको त्यो हर्कत ।
हुन त होटलका पनि आफ्नै समस्या होलान् । यही कुरा शिष्ट भएर भन्दा के बिग्रन्थ्यो र ? यतिका मान्छेहरूका सामु ती गाइडको अपमान नै गर्नुपर्ने ? कसैले त्यो गाइडको पक्षमा बोल्न सकेनन् ।
०००
स्लिपिङब्यागभित्र लाइनर हालेर, टोपी र मोजा नफुकालीकनै सुत्दा पनि बिहान उठ्दा मलाई खुम्बु कोल्डले छोइसकेको रहेछ, शरीरले विद्रोह गरेझैँ । लोबुचेमा हिउँ पगालेको पानी पिएको नतिजा यस्तै हुन्छ भन्ने पहिल्यै थाहा थियो । लाग्यो – ‘बरु रु. दुई सय पचास तिरेर भए पनि बोतलकै पानी पिउनुपर्ने रहेछ । त्यतिखेर बुद्धि आएन त, के गर्नु !’ म थकथकाइरहेँ, आफ्नै गल्तीमा पछुताउँदै ।
सात बज्दा तीनैजना डाइनिङ हलमा ब्रेकफास्टका लागि हाजिर भए ।
मैले उनीहरूको अनुहार पढेँ, किताबका पाना पल्टाएझैँ । अल्टिच्युडले कसैलाई एकरत्ति छोएको थिएन । तर स्याजेन र लिलाई भने मलाईजस्तै खुम्बु कोल्डले समातिसकेको रहेछ । मैले उनीहरूलाई अदुवा–पानी पिउन सल्लाह दिएँ ।
गोरकसेपका लागि हाम्रो उत्साहपूर्ण पाइला अघि बढ्यो । हिमनदीको गोरेटोमा पुगेपछि आँखामा छाउन थाल्यो, हिजोसम्म टाउको मात्र देखाएको सुन्दर पुमोरीको सग्लो रूप र कालापत्थरसमेतको महालङ्गुर हिमशृङ्खला – हिमालहरूको भव्य राजदरबार । कस्तो भव्यता हिमालहरूको ! पाइला नरोकी रहनै सकिनँ । मैले ती तमाम छटाहरूलाई हृदयङ्गम गरेँ । पुमोरी निकै मनमोहक छ, एक स्वप्निल राजकुमारीझैँ, बिर्सनै नसकिने ।
तल हिमनदी घस्रिरहेछ, बडेमानका चट्टान बोकेर, एक अल्छी सर्पझैँ । हामी त्यसैमाथि हिँडिरहेका थियौँ । कति ढिलो हिँड्छ हिमनदी ! खोलाजस्तै बग्ने भए त हाम्रो यात्रा कहाँ सम्भव हुन्थ्यो र ! प्रकृतिले दिएको यो ठूलै अवसर हो । म मनमनै बात मार्दै थिएँ, प्रकृतिको त्यो मौन संवादमा ।
थुम्कामा बस्दा देखिएको कालापत्थर र बेसक्याम्पको दृश्य पनि कम सुन्दर थिएन । इबीसीलाई जुम गरेर स्याजेनले मलाई देखाए । राता, नीला, हरिया र पहेँला टेन्टहरूले भरिएको इबीसी एउटा पृथक गाउँजस्तै लाग्थ्यो, रङ्गीन फूलहरूको बगैँचाझैँ । सगरमाथा आरोहणका सिलसिलामा बस्नका लागि हिमनदीमाथि खडा गरिएका आधारशिविर थिए ती ।
स्याजेनले सोधे, “हिमालहरूको नामकरण कसरी गरियो ?”
उनको प्रश्न असाध्यै राम्रो थियो । बिनाअर्थ कुनै पनि हिमालको नाम छैन । मलाई एभरेस्टबाहेक अरू हिमालको नामकरणबारे जानकारी थिएन ।
“कसरी राखियो हिमालहरूको नाम, भन्नुस् न दाइ !” स्याजेनको प्रश्न मैले लाललाई पन्छाएँ ।
“विभिन्न अर्थमा हिमालहरूको नाम राखिएका छन् । शेर्पा भाषामा ‘नुप्से’ को अर्थ ‘पश्चिम शिखर’ । नुब–पश्चिम, च्छे–शिखर र ‘ल्होत्से’ को अर्थ ‘दक्षिण शिखर’ । ल्हो– दक्षिण । ल्होत्सेको पूर्वमा रहेकोले ‘ल्होत्से सार’ अर्थात् ‘ल्होत्से पूर्व’ भनिएको हो । कुनैको नाम त्यसको आकृतिअनुसार राखिएको छ । जस्तै – ‘काङ्तेगा’ । झलक्क हेर्दा ‘काङ्तेगा’ काठी कसेर ठिक्क पारेको घोडाजस्तै लाग्ने भएकोले त्यसो भनिएको रे ।”
यस्तै रोचक छ– आमादब्लमको अर्थ । शेर्पा भाषाबाटै आएको हो यो नाम ।
‘आमा’ को अर्थ आमा नै हो । ‘दब्लम’ अर्थ विशेष प्रकारको हार हुन्छ जुन शेर्पा महिलाहरूले लगाउँछन् । त्यसमा देवीदेवताका चित्रहरू कुँदिएका हुन्छन् । हिमालको काखमा झुन्डिएको जस्तो देखिने हिमनदी (ह्याङ्गिङ ग्ल्यासियर) लाई आमाले घाँटीमा लगाएको त्यही हारसँग तुलना गरिएको हो । त्यसैले, आमादब्लमको अर्थ ‘आमाको हार’ भन्ने हुन्छ । यो हिमालको सबैभन्दा प्रख्यात विशेषता पनि यही झुन्डिएको हिमनदी हो ।
आमादब्लमको अग्लो शिखरलाई ‘आमा’ तल्लो शिखर ‘दब्लम’ लाई छोरीको रूपमा पनि अथ्र्याएको पनि पाइन्छ, जहाँ आमाले आफ्नो बच्चा (छोरी) लाई बोकेको जस्तो आकृतिसँग तुलना गरिन्छ ।
यो अर्थले मातृत्व, सुरक्षा, र सौन्दर्यको प्रतीकलाई जनाउँछ । हिमालको अनुपम आकृति र यसको नामकरणले शेर्पा संस्कृति र हिमाली परिवेशको गहिरो सम्बन्धलाई झल्काउँछ । दुवै अर्थ र हिमालको दृश्यसँग मिल्दोजुल्दा लाग्छन् ।
उता अन्नपूर्णमा हिउँचुलीलाई साउथ अन्नपूर्णको सानी बहिनी भनेझैँ यहाँ पुमोरीलाई सगरमाथाको सानी छोरी भनिन्छ । शेर्पा भाषामा ‘पुमो’को अर्थ सानी छोरी र ‘रि’को अर्थ हिमाल हो । पुमोरीलाई शक्तिशाली पर्वत मान्छन् शेर्पाहरू,” उनले भने ।
जब लालले हिमालहरूको नामको अर्थ खोल्दै गए, तब ती पत्थर र हिउँका थुप्राहरू मात्र रहेनन्; ती हाम्रो इतिहास, हाम्रो भाषा र हाम्रो पहिचानका जीवन्त प्रतीक बने । हरेक नामसँगै आँखाले हिमालको नयाँ रूप देख्थ्यो र मनमा स्वाभिमानको तह थपिँदै जान्थ्यो ।
‘गोरकसेप’ भनेको काग मरेको ठाउँ हो । त्यहाँ पुग्नै लाग्दा ‘गोरकसेप’को प्रसङ्ग निकाल्दै लालले भने, “यहाँ ठुला कदका कागहरू ‘गोरक, गोरक’ गरेर कराउँछन् । शेर्पा भाषामा ‘सेप’ भनेको मर्नु हो । यो ठाउँमा कसैले काग मरेको देखेछन् रे । त्यसपछि यस ठाउँलाई ‘गोरकसेप’ भनिन थाल्यो रे ।” मैले यही कुरा उनीहरूलाई पनि बताएँ ।
छिनछिनमा गह्रुङ्गो सुस्केरा हाल्दै म उकालिँदै थिएँ । सिङ्गोपुरेहरूका पाइलैपिच्छेको ‘खुइय’ पनि सुन्नलायक थियो । धन्न लाल थिए र! उनको कुरा सुनेर बाटो कटेको पत्तै भएन । उनले दन्त्यकथामा भनेझैँ काग मरेको ठाउँ गोरकसेप पुगियो ।
हामी सीधै स्नोल्यान्ड होटलमा प्रवेश ग¥यौँ ।
ज्यानमा पानी नपरेको चार दिन भइसकेको थियो । फेरिचे पुगेर पसिना पखाल्न म आतुर थिएँ । आज एक रात काट्न पाए त !
०००
सगरमाथा सुम्सुम्याउन आतुर हामी भोलिपल्ट सखारै उकालो लाग्यौँ, मनमा एक अदम्य इच्छा लिएर ।
सगरमाथाले हामीलाई तानिरहेको थियो, एक शक्तिशाली चुम्बकलेझैँ । उही हिमानी मार्गका चट्टानका आड लिएर टर्चलाइटको सहारामा हामी एकतमासले उक्लिरहेका थियौँ, स्वर्ग जाने सिँढीको कल्पना गर्दै ।
अँध्यारोको विलयसँगै उज्यालोको साम्राज्य फैलिँदै थियो । हामी इबीसी पुग्नुअघिको डिलमा पुगिसकेका थियौँ । उदाउँदो सूर्यको पहिलो किरणसँगै नुप्से र ल्होत्सेको पछाडि गमक्क परेर बसेको सगरमाथा झुलुक्क झुल्क्यो । घामको लालिमाले सगरमाथा नम्बरी सुनझैँ टलक्क टल्कियो, सूर्यको पहिलो झुल्कोले सगरमाथाको शिरमा सुनको लावा बर्साएसरि ।
जब सगरमाथाले आफ्नो सम्पूर्ण महिमाका साथ आँखाअगाडि दर्शन दियो, तब शब्दहरू हराए । आँखामा केवल त्यही विराट, अदम्य सगरमाथा थियो, र मनमा गर्व र स्वाभिमानको त्यो उत्कर्ष, जसलाई बयान गर्न कुनै भाषा थिएन । त्यो क्षण, म केवल एक व्यक्ति थिइनँ, म सिङ्गोे नेपाल थिएँ, सगरमाथाको छातीमा आफ्नो स्वाभिमानको ध्वजा फहराइरहेको ।
यात्राभरिकै सबैभन्दा नजिकको, सबैभन्दा अविस्मरणीय दृश्य थियो त्यो । सगरमाथा, केवल पत्थर र हिउँको थुप्रो मात्र थिएन, त्यो त थियो समयको मौन साक्षी, पृथ्वीको आत्माको उच्चतम अभिव्यक्ति, जसको स्पर्शले हाम्रो तुच्छतालाई पखालेर अस्तित्वलाई नै पवित्र तुल्याउँथ्यो ।
सेतो हिमच्यादरले बेरिएको त्यो विशाल शिखर एकदमै नजिकै उभिएको थियो, मानौँ यो पृथ्वीको हृदय हो, जसको स्पन्दन अनुभव गर्न सकिन्छ ।
मैले फ्याट्टै भनिहालेँ, “ऊ… त्यही हो माउन्ट एभरेस्ट ! नेपाल भनेर नचिने पनि सगरमाथाको देश भन्दा सबैले चिन्छन् । यही हो हाम्रो चिनारी । यही हो स्वाभिमान, हाम्रो गौरवको उच्चतम विन्दु ।”
सबैले एकतमासले हेरिरहे सगरमाथालाई, आँखा झिमिक्क नगरीकनै, मानौँ उनीहरू कुनै दिव्य दर्शनमा लीन थिए । यतिसम्म कि, तस्बिर लिन पनि भुलिरहेका थिए ।
सगरमाथा निर्बाध हाँसिरहेथ्यो, एक सम्राट आफ्नो साम्राज्य नियाल्दै मुस्कुराएझैँ । मैले मनले छोएँ सगरमाथालाई । आँखाले बेस्सरी सुम्सुम्याएँ । गर्वले मेरो छाती फुलेर आयो । मन छमछमी नाचिरहेथ्यो, मयूरलेझैँ । यस्तो भान हुन्थ्यो– म सगरमाथासँग रमाएको बेला मेरो खुसीमा स्वयम् सगरमाथा पनि मुस्कुराइरहेछ ।
लालले भने– “आधार शिविरमा हामी आधार शिविरमात्र देख्नेछौँ । नजिकका हिमालहरू त देखिन्छन् तर सगरमाथासम्म दृष्टि पु¥याउन सकिन्न ।”
आधार शिविरतर्फका पाइलामा चिसो बतासले अनुहार छाम्न आएथ्यो । मेरा औँलाहरू काँपिरहेका थिए किन्तु मनमा कुनै भय थिएन– थियो त केवल उत्साह, सन्तोष र अपूर्व आनन्दको ज्वारभाटा । त्यो विशालता, त्यो मौनता, त्यो शाश्वत शान्ति– सबैले मनमा अद्भुत अनुभूति जगाइरहेको थियो । जीवनका हरेक चञ्चल क्षणहरू यहाँ आएर स्थिर भएका थिए, समय आफैँ थामिएको थियो, एक अनन्त वर्तमानमा ।
त्यो अविस्मरणीय बिहान, गर्वले मेरो शीर आकाश छुन खोजिरहेको थियो । खुसीको सागरले मनका सबै कुनाकाप्चा भरिदिएको थियो, जसको कुनै सीमा थिएन । सगरमाथाको अटल छायाँमा, म पनि एक प्रतिविम्बझैँ निकैबेर स्थिर रहेँ । त्यो पल, म केवल हिमालको न्यानो, स्नेहिल सुम्सुम्याहटमा समाहित थिएँ– आत्माका तारहरूलाई नै झङ्कृत पार्ने एक अलौकिक, मौन आवाज सुनिरहेथेँ । लाग्थ्यो, त्यो दिव्य ध्वनि एक चिरस्मरणीय, मीठो लोरीझैँ हृदयमा गुञ्जिरहेको थियो, सधैँका लागि ।
आधार शिविर पुगेर फर्कंर्दा सगरमाथाका दृश्य आँखाबाट क्रमशः ओझेल पर्दै गए । उसको उचाइले मनमा रोपिदिएको स्वाभिमानको बीज र त्यसले सिञ्चित गरेको अदम्य ऊर्जा चहिँ कहिल्यै मन्द भएन ।

