काठमाडौं: विद्रोही तालिबान समूहले अफगानिस्तानको दोस्रो ठूलो शहर कान्धार कब्जा गरेको दाबी गरेको छ ।
तालिबान समूहले कान्धारको जेल कब्जा गरेर राजनीतिक कैदीबन्दीहरुलाई मुक्त गरेको एक भिडियो सार्वजनिक भएको छ ।
तालिबानका एक प्रवक्ताले कान्धारमा पूर्णरुपमा विजयी भएको दाबी गरेका हुन् । तालिबान समूहको यो दाबी सत्य भएमा अफगानिस्तान सरकारको नियन्त्रणमा अब केबल राजधानी काबुल र केही सानातिना क्षेत्र मात्र बाँकी रहेको छ ।
तालिबानले अब राजधानी काबुल पनि कब्जा गर्न सक्ने विश्लेषण गर्न थालिएको छ ।
अफगानिस्तानमा २० वर्षदेखि रहँदै आएका अमेरिकी र अन्य विदेशी सैनिक फिर्ता भएलगत्तै तालिबान समूहले एकपछि अर्को शहरमाथि कब्जा जमाउँदै गएका छन् ।
तालिबानले एक हप्ताको बीचमा ३४ प्रान्तीय राजधानीमध्ये ११ मा आफ्नो नियन्त्रण स्थापित गरिसकेको छ ।

