कक्षा १२ को परीक्षा कसरी सञ्चालन गर्ने वा मूल्यांकन विधि कस्तो अपनाउने भन्ने विषयमा कार्यदलले अध्ययन थालेको छ। राष्ट्रिय परीक्षा बोर्डले शिक्षा विभागका महानिर्देशक वैकुण्ठप्रसाद अर्यालको अध्यक्षमा गठन गरेको कार्यदलले सरकारवालाहरुसँग छलफल थालेको हो। परीक्षा बोर्डले कोरोना भाइरसको महामारीलाई मध्यनजर गरि गएको सोमबार एसइइ र कक्षा १२ को परीक्षा तत्कालका लागि स्थागित गर्ने निर्णय गरेको थियो।
एसइइको जेठ १३ तथा कक्षा १२ को जेठ २६ गतेदेखि परीक्षा गर्ने तयारी थियो। तत्कालका लागि परीक्षा स्थगित गरेको बोर्डले सम्भावित परीक्षण विधि तथा मूल्यांकन प्रक्रियाबारे अध्ययन तथा सरोकारवाला निकायसँग छलफल गरि सुझावसहितको प्रतिवेदन बुझाउने गरि शिक्षा विभागका महानिर्देशक अर्याल नेतृत्वको कार्यदललाई जिम्मा दिएको हो।
कार्यदलका अध्यक्ष अर्यालले भने, ‘हामीले काम सुरु गरेका छौँ। अहिले हामी विभिन्न देशमा विपदको अवस्थामा अध्ययन परीक्षण तथा मूल्यांकनका लागि अपनाइएका विधिबारे अध्ययन गरिरहेका छौँ। यस्तै सरोकारवाला पक्षसँगको राय सुझाव संकलनको प्रक्रिया पनि थालेका छौँ।’ शिक्षक, अभिभावक, विद्यालय सञ्चालक, शिक्षाविद, विद्यार्थी तथा शिक्षा नीति निर्माणमा रहेकाहरुसँगको परामर्शमा आफूहरु रहेको अध्यक्ष अर्यालले जानकारी दिए। काम सुरु गरेको दुई हप्ताभित्र सुझावसहितको प्रतिवेदन बुझाउने जिम्मेवारी कार्यदलले पाएको छ।
‘अहिले हामी अध्ययन तथा छलफलको प्रारम्भिक चरणमा छौँ। जेठ मध्यसम्ममा सबै पक्षबाट आएको रायसहित सुझाव समेटेर प्रतिवेदन बोर्डलाई बुझाउने तयारी छ’, कार्यदलका अध्यक्ष अर्यालले भने। गएको वर्ष कोरोना भाइरसकै महामारीका कारण निर्धारित परीक्षा हुन सकेको थिएन र आन्तरिक मूल्यांकनका आधारमा नतिजा प्रकाशित गरिएको थियो।
यो वर्ष आन्तरिक मूल्यांकन बाहेक पनि अरु कुनै विकल्प हुन सक्छ वा आन्तरिक मूल्यांकनलाई नै पनि कसरी प्रभावकारी बनाउन सकिन्छ भन्नेबारे अध्ययन गरिरहेको परीक्षा बोर्डले जनाएको छ। विद्यालय सञ्चालक तथा शिक्षाविदहरु भने देशभर नै अनलाइनका माध्यमबाट परीक्षा लिन सकिने अवस्था नरहेकाले आन्तरिक मूल्यांकन नै उपयुक्त विकल्प रहेको तर त्यसलाई व्यवस्थित भने गरिनु पर्ने बताउँछन्।

