एभरेष्ट बैंक लिमिटेडले आज (फागुन १८ गते) देखि ऋणपत्र निष्काशन र बिक्री सुरु गर्दैछ। बैंकले १० वर्षे अवधिको ‘एभरेष्ट बैंक लिमिटेड ऋणपत्र २०९१’ जारी गर्न लागेको हो, जसमा वार्षिक ७.५० प्रतिशत ब्याजदर प्रदान गरिनेछ।
बैंकले प्रति ऋणपत्र एक हजार रुपैयाँ अंकित दरमा कुल ३ अर्ब रुपैयाँ बराबरको ३० लाख कित्ता ऋणपत्र निष्काशन गर्नेछ। यसमध्ये ६० प्रतिशत (१ अर्ब ८० करोड रुपैयाँ बराबरको १८ लाख कित्ता) व्यक्तिगत तवरबाट बाँडफाँट गरिनेछ। बाँकी ४० प्रतिशत (१ अर्ब २० करोड रुपैयाँ बराबरको १२ लाख कित्ता) सर्वसाधारणका लागि उपलब्ध हुनेछ। सर्वसाधारणका लागि छुट्याइएको ऋणपत्रमध्ये ५ प्रतिशत (६० हजार कित्ता) सामूहिक लगानी कोषहरुलाई छुट्याइएको छ।
लगानीकर्ताले न्यूनतम २५ कित्ता र अधिकतम १२ लाख कित्ताका लागि आवेदन दिन सक्नेछन्। ऋणपत्र निष्काशन फागुन २१ गते छिटोमा र चैत ३ गते ढिलोमा बन्द हुनेछ।
यस ऋणपत्रको निष्काशन तथा बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटल लिमिटेड हो। लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृत आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरु, तिनका तोकिएका शाखाहरु, र ‘मेरो शेयर’ सफ्टवेयरमार्फत सिआस्बा प्रणालीद्वारा आवेदन दिन सक्नेछन्।

