लुम्बिनी प्रदेशको पहिलो मुख्यमन्त्रीको रूपमा २०७४ फागुन ३ गते नियुक्त भएका शंकर पोखरेलले राजीनामा दिएसँगै लुम्बिनी प्रदेशमा बिहीबार दोस्रो मुख्यमन्त्रीको रूपमा माओवादी केन्द्रका कुलप्रसाद केसी नियुक्त हुँदैछन्।
२४ घण्टाको लागि भन्दै बुधबार प्रदेश प्रमुख अमिक शेरचनले आह्वान गरेको मुख्यमन्त्रीको दाबी पेश गर्ने समयभित्र केसीले मात्र दाबी गरेपछि उनी मुख्यमन्त्री बन्ने पक्का भएको छ।
संविधानको धारा १६८ को २ बमोजिम मुख्यमन्त्रीमा माग दाबी गरेका केसीलाई माओवादी केन्द्र, नेपाली कांग्रेस, जनमोर्चा, जनता समाजवादीको समर्थन छ।
सोही अनुसार उनलाई गठबन्धनका ४१ र सूर्य चिन्ह लिएर निर्वाचित हृदयेश त्रिपाठी समूहका अजय शाही गरी ४२ जना सांसदले हस्ताक्षर गरी मुख्यमन्त्रीमा प्रस्ताव गरेका छन्।
शंकर पोखेरलको बुधबार मुख्यमन्त्रीबाट राजीनामा दिएपछि नयाँ सरकार गठनको बाटो खुलेको थियो । नवनियुक्त मुख्यमन्त्री केसी रोल्पा १ (क)बाट निर्वाचित भएका थिए । प्रदेश प्रमुखले केसीलाई मुख्यमन्त्री नियुक्त गरेसँगै अपरान्ह ४ बजे शपथ ग्रहण गराउने तयारी भएको छ ।

