टंकलाल घिसिङ राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव बनेका छन् । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले घिसिङलाई परिषद्का नयाँ सदस्यसचिवका रूपमा नियुक्त गरेको हो । युवा तथा खेलकुदमन्त्री महेश्वर गहतराजले आइतबार साँझ सदस्यसचिवका लागि तीनजनाको नाम मन्त्रिपरिषद्मा पेस गरेका थिए । ।मन्त्री गहतराजले नेपाल रग्बी संघका अध्यक्षसमेत रहेका घिसिङ, अच्युतम लामिछाने र ममता श्रेष्ठको नाम मन्त्रिपरिषद्मा पेस गरेका थिए ।
मन्त्री गहतराजले मन्त्रालयका सहसचिव कमलप्रसाद पोखरेलको संयोजकत्वमा कमला ज्ञवाली र हरिबहादुर श्रेष्ठ सम्मिलित छनोट समिति गठन गरेका थिए । सो समितिले एक महिलासहित तीनजनाको नाम अन्तिम सूचीमा राखेको थियो । नयाँ सदस्यसचिव बनेका घिसिङ माओवादीका बागमती प्रदेश कमिटी सदस्य हुन् ।
राष्ट्रिय खेलकुद विकास ऐनले सिफारिस समितिले एक महिलासहित तीनजनाको नाम मन्त्रालयमा सिफारिस गर्नुपर्ने प्रावधान राखेको छ । सरकारले १ कात्तिकमा परिषद्का सदस्यसचिव रमेशकुमार सिलवाललाई पदमुक्त गरेको थियो । घिसिङले मंगलबार नै पद तथा गोपनीयताको शपथ लिने सम्भावना छ । गत शुक्रबारसम्म मन्त्रालयले सदस्यसचिवको आवेदन माग गरेको थियो । राष्ट्रिय खेलकुद विकास ऐन २०७७ अनुसार राखेप सदस्यसचिव खुला छनोटका आधारमा गर्नुपर्नेछ ।

