तोमनाथ उप्रेती
ज्ञान अध्ययन, अनुभव, सिप, दक्षता तथा आवश्यक सुुचनाहरु संग सम्बन्धित हुन्छ । ज्ञानले कुनै पनि बिषय बस्तु वा समस्यालाई हेर्ने, बिश्लेषण गर्ने र समाधान गर्ने तरिकामा समेत फरक पार्दछ । तसर्थ ज्ञानलाई व्यक्तिगत वा संगठित एउटा महत्वपुणर् औजारको रुपमा लिने गरेको छ । ज्ञान व्यक्ति बिशेषमा हुने तथ्य, जानकारी र अनुभव पनि हो । ज्ञानको प्राप्ति, बिचार, बिमर्श र यसको उचित उपयोग गर्ने क्रमबद्ध तरिकालाई ज्ञानको व्यवस्थापन भन्न सकिन्छ । वर्तमान अन्तरजेलित, अन्तरनिर्भर, जटिल, परिवर्तनशील र सुसूचीत समाजमा ज्ञानको महत्व बढेर गएको छ । ज्ञान मार्ग एक उत्कृष्ट अभ्यास हो । ज्ञान क्रियाका माध्यमबाट सिकिएको वा अनुभवबाट बटुलिएको तथ्यगत र रायगत सूचनाको समुच्चय हो । तथ्य वा अभिमतका बारेमा हामीसँग रहेको चित्तगत जागृति नै ज्ञान हो । ज्ञान कार्यमा आधारीत अनुभव, सूचना, जानकारी तथा सिकाईहरुलाई ज्ञान उत्पादन गर्ने, सहि व्यक्तिलाई, सहि समयमा, सहि संचार गर्नु नै ज्ञान व्यवस्थापन हो ।
ज्ञान व्यक्तिमा रहेको गुण हो । व्यक्तिमा खासगरी सुव्यक्त ज्ञान र अन्तरनिहीत ज्ञान हुन्छ । सुव्यक्त ज्ञान नीति योजना किताब, प्रतिवेदन, डकुमेन्ट, डाटाबैंक, ब्हाइट, ग्रिन, विल्यु पेपर, पत्रपत्रिका, पुस्तकालय वा किताबमा रहेको हुन्छ । अन्तरनिहीत ज्ञान व्यक्तिमा हुन्छ, तर स्पष्ट देखिँदैन । यस्तो ज्ञान व्यक्तिको दिमागमा रहेको हुन्छ । व्यक्तिको मस्तिष्कमा, सम्झनामा तथा संस्कृतिमा रहेको हुन्छ । खासगरी सुव्यक्त ज्ञानलाई संगठित, एकत्रित, डकुमेन्टेड गर्न र वितरण गर्न सकिन्छ । पुर्नउत्पादन गर्न सकिन्छ । अन्तरनिहीत ज्ञान व्यक्तिमा लुकेर बसेको हुन्छ र आवश्यकतानुसार प्रकट हुन्छ । व्यक्तिमा रहेको विशेषज्ञता, कुन काम कसरी गर्ने, किन गर्ने भन्ने जानकारी नयाँ परिस्थिति र अनपेक्षित अवस्थामा अन्तरनिहीत ज्ञानको अभ्यास गर्न सकिन्छ ।
संस्थालाई जिवन्त राख्ने विभिन्न श्रोत मध्ये ज्ञान व्यवस्थापन पनि एक हो । ज्ञान व्यक्तिमा अन्तरनीहित बौद्धिक सम्पति हो । जुन प्रयोग गरेर नघट्ने, स्थानान्तरण गरेर नास नहुने, सेयर गर्दा झन् माझिने गर्दछ । ज्ञान सूचना र बौद्धिकताको मिश्रण हो । ज्ञानले मन र मस्तिष्कलाई परिष्कृत गर्छ । यो असत्य र सत्यको बिचको भिन्नताको ज्ञान हो । ज्ञानको पहिचान, ज्ञानको खोजी र ज्ञानको सिर्जना र ज्ञानको भण्डारण गरी भविष्यका लागि उपयोग गर्न मिल्ने गरी ज्ञानको संग्रह र ज्ञान प्रकाशनमा निरन्तर सम्पादनसहित लाग्नु तथा मानव जिवनको चेतनाको विकास गर्दै सर्वोकृष्ट प्राणीको मान्यतामा परिकृष्त गर्ने काम गर्नुपर्ने अवस्था सिर्जना भएको छ ।
नयाँ पाठ सिक्न र ज्ञान साझेदारी गर्न, आयोजना डिजाईन र कार्यान्वयनमा सुधार गर्न, नीति प्रक्रियाहरुलाई प्रभाव पार्न, आयोजनाका गतिविधिहरुलाई जागरुकता बढाउन, नीति निर्माताहरु बीच आयोजनाको गुणस्तर बढाउन, लक्षित वर्गहरुलाई कृयाकलापहरु कार्यान्वयन गर्न जानकारी दिन, आयोजना क्षेत्रका साझेदारहरु निर्माण गर्न, सफल अनुभवहरुको प्रचारगर्न ज्ञान व्यवस्थापनले मूख्य भूमिका खेल्नेछ ।
ज्ञान व्यवस्थापनले प्रणालीगत व्यवस्थापनमा संस्थागत ज्ञानको उद्धेश्य र लक्ष्य हासिल गर्न सृजनात्मक मुल्य र रणनीतिक आवश्यकता पुरा गर्नका लागि लाभदायक र सान्र्दभिक बौद्धिक सम्पत्ति हासिल गरी संगठनात्मक सुधार प्रर्दशन गर्न सहयोग गर्दछ । संगठनात्मक ज्ञान संगठनको सम्पत्ति हो । संगठनात्मक ज्ञानले व्यक्तिको ज्ञानलाई विस्थापित गर्दैन, बरू व्यक्तिगत ज्ञानलाई सशक्त, तर्कपूणर्, सुसंगत बनाउँदै संरक्षण, प्रवद्र्धन र उपयोग गर्ने गर्दछ । ज्ञान व्यवस्थापनले संगठनको सक्षमता र प्रभावकारिता बढाउन संगठनात्मक ज्ञानसँगसँगै व्यक्तिको सम्भावित ज्ञान, सीप, क्षमता, विचार, अन्वेषणलाई पूणर्रूपमा उपयोग गर्ने रणनीति बुन्ने गर्दछ । संगठनको काम छिटोछरितो गर्न, राम्रा अभ्यासहरू दोहो-याउन, खर्च कम गर्न, ज्ञानार्जन, विकास, संरक्षण र प्रयोग गर्न ज्ञान व्यवस्थापन केन्द्रित हुने गर्दछ । ज्ञान व्यवस्थापन संगठनको लक्ष्य हासिल गर्न कर्मचारी, प्रविधि, प्रक्रिया, तथा संगठनात्मक संरचनाको प्रयोग र अन्वेषणको उद्देश्यमूलक समन्वय हो जसले संगठनको क्षमतामा सारभूत मूल्य अभिवृद्धि गर्दछ ।
मानिसको जीवनलाई जिवन्त, क्रियाशिल राख्नका लागि सूचना र प्रविधिको युगमा ज्ञान व्यवस्थापन महत्वर्पुण मानिन्छ । नयाँ अभ्यासको पाठ सिक्न र ज्ञान साझेदारी गर्न, आयोजना डिजाईन र कार्यान्वयनमा सुधार गर्न, नीति प्रक्रियाहरुलाई प्रभाव पार्न, विद्यार्थीका गतिविधिहरुलाई जागरुकता बढाउन, नीति निर्माताहरु बीच विद्यार्थीलाई शिक्षा प्रदान गरी गुणस्तरीयता र प्रतिस्पर्धी क्षमतामा अभिवृद्धि गर्न, लक्षित वर्गहरुलाई ज्ञान आर्जनमुखी क्रियाकलापहरु कार्यान्वयन गरी जानकारी दिन, समुदायका साझेदारहरु निर्माण गरी निरन्तर समन्वय गर्न, सफल अनुभवहरु प्रचार गरी सकारात्मक सन्देश प्रवाह गर्नका लागि ज्ञान व्यवस्थापनले भुमिका खेल्दछ ।
वर्तमान समयमा हरेक व्यक्तिको वेवसाइट, इमेल, फेसबुक पेज, सामाजिक सञ्जालहरुमा आबद्ध, टिकटक लगायत युटुव च्यानलहरुले मानिसलाई क्षमता विकास गर्न र ज्ञानको संग्रह गरी व्यवस्थापन गर्न सजिलो भएको छ । अब घरमा वाइफाइ जडित कम्प्युटर र मोबाइल भएपछि सारा संसार सिमित बन्द कोठाभित्र हुन पुगेको अवस्था विधमान छ । वर्तमान समयमा ज्ञान व्यवस्थापन संगठनको महत्वपूणर् रणनीतिका रूपमा प्रयोग हुँदै गएको पाइन्छ ।
ज्ञान व्यवस्थापन स्मरण, बुद्धि, बिचार र सिकाईका परिचालनसँग सम्बन्धित कार्य हो यसले ज्ञानको पहिचान गर्न, प्राप्त गर्न औपचारिक तरिकाले सबै व्यक्ति वा पद्धतिमा क्रमबद्ध तरिकाले व्यवस्थापन गर्दै संगठनात्मक तथा आधुनिक प्रविधिको प्रयोग गरि समस्याहरु सहज रुपमा सम्पादन गर्न सक्ने बातावरण तयार गरिदिन्छ । ज्ञान व्यवस्थापन आफैमा एउटा नियमित र निरन्तर प्रक्रिया हो । ज्ञान व्यवस्थापन एउटा नियमित चक्र हो । यसको चक्रमा तथ्याङ्क, सुचना र ज्ञानलाई क्रमश संकलन, बिश्लेषण, भण्डारण एवम् उपयोग गर्ने कुरालाई बिशेष ध्यान दिइन्छ ।
वर्तमान समाजमा ज्ञान प्रसस्त छ तर यसको उपयोग भने कठिन बन्दै गएको छ ।संगठनात्मक ज्ञान डाटावेस, प्रतिवेदनमा डकुमेन्टेड हुन्छ र संगठनको मूल्यमान्यता, नम्र्स, प्रक्रिया र अभ्यासमा पनि रहेको हुन्छ । संगठनले आफ्नो लक्ष्य प्राप्त गर्न ज्ञान प्राप्ति गर्ने, रचना गर्ने, उपयोग गर्ने, संरक्षण गर्ने, जोगाएर राख्ने गर्दछ । यद्यपि, कतिपय अवस्थामा संगठनको मूल्यवान ज्ञान अपर्याप्त हुने वा नष्ट भएर, हराएर वा नासिएर जाने गर्दछ ।ज्ञान व्यवस्थापनमा मानव मस्तिकको अनुभव, सिकाई, भावनाहरु, अन्तरदृष्टि, अन्र्तज्ञान, बुद्धि, अवलोकन, आन्तरिक जानकारी, मानव मतलाई बुझने, पुस्तकहरु अध्ययन गर्ने, कागजातहरु, प्रतिवेदन, संस्मरण लगायतलाई बृहत रुपमा मानिसको जिवनमा निरन्तर अभ्यासमा लगि बुद्धिजीवि मर्यादा क्रमको मानवमा नागरिक पर्दछ ।
आजको सूचना र ज्ञानको युगमा भौतिक साधन, वित्तीय साधनभन्दा ज्ञान प्रतिस्पर्धात्मक लाभ प्राप्त गर्ने महत्वपूणर् स्रोत बनेको छ । ज्ञान व्यवस्थापनमा संगठनले आफ्ना कर्मचारीलाई कार्यसम्पादन गर्दा बढीभन्दा बढी नयाँ ज्ञान सिर्जना गर्न र त्यसको प्रयोग गरेर काम गर्न उत्प्रेरित गरेको हुन्छ । ज्ञान सिर्जना गर्ने, प्राप्त गर्ने, भण्डारण गर्ने, सेयर गर्ने र प्रयोग गर्ने प्रक्रिया ज्ञान व्यवस्थापन हो । संगठनात्मक सिकाइका माध्यमबाट संगठनमा विशेष ज्ञान र सीपको विकास हुन्छ । ज्ञान व्यवस्थापनले ज्ञानको भण्डारण र ज्ञानको बहावको व्यवस्थापन गर्दछ । ज्ञानको भण्डारनसँग कम्प्युटरमा रहेको विशेषज्ञता र संकेत गरिएको ज्ञान सम्बन्धित हुन्छ भने ज्ञानको बहाव व्यक्तिबाट व्यक्तिमा स्थानान्तरण हुँदै गएको ज्ञानसँग सम्बन्धित हुन्छ ।
वर्तमान समयमा संगठनको सम्पर्क, सम्बन्ध र कार्यक्षेत्र विश्वव्यापीकरण बनेको, बहुसंस्कृति, बहुभाषा, बहुसम्बन्धमा काम गर्नुपर्ने भएको, समाज सुसूचित बनेको, प्रविधिको परिवर्तन र उन्नयन अकल्पनीय रहेको, संगठनको स्मृति लोप हुने प्रवृत्ति उच्च भएको र ज्ञानयुक्त कामदारको व्यवस्थापन गर्न संगठन निरन्तर सिकाइमा समर्पित हुन अनिवार्य बनेको कारण ज्ञान व्यवस्थापनको महत्व आकासिएको छ । आज हामी भौतिक स्रोत साधनबाट भन्दा ज्ञानबाट बढी उत्पादक सेवा दिन सक्ने अवस्थामा पुगेका छांै । पहिले औद्योगिक युग थियो । मानिस, मेसिन, विधि र साधनमा जोड दिइन्थ्यो । उद्योग व्यवसायहरू श्रमप्रधान थिए । श्रम सस्तो पनि थियो । कामदारहरूमा विविधता पनि थिएन । प्रशासन र व्यवस्थापन पदसोपान र कमान्ड एन्ड कन्ट्रोलको सिद्धान्तमा सञ्चालित थियो र संगठनहरू परिणामभन्दा प्रक्रिया पु-याउन अभ्यस्त थिए ।
ज्ञान व्यवस्थापनबाट संगठनका जनशक्तिले थोरै समयमा धेरै काम राम्रोसँग गर्न, गहन निणर्य लिन र समस्या समाधान गर्न सक्षम हुन्छन् । यसबाट पेसागत सीप विकास, नेटवर्कको अभ्यास, टिममा काम गर्ने संस्कृतिले टिम लाभान्वित हुन्छ ।संगठन र संगठनमा काम गर्ने कर्मचारीले ज्ञानको निरन्तर प्रयोग र अभ्यासले प्रशोधित हुँदै र माझिँदै जान्छ । संगठनात्मक क्रियाले ज्ञान संगठनको डाटाबैंकमा भण्डारण हुँदै जान्छ र त्यस्तो ज्ञान डकुमेन्ट, म्यानुअल, प्रस्तुति र प्रतिवेदनका रूपमा प्राप्त हुन्छ ।
अन्त्यमा, गुणस्तरीय उच्च शिक्षा , नैतिक र अध्यात्मिक शिक्षा, सीप, सूचना सञ्चार र प्रविधि, अनुसन्धान एवं विकास, नवीनता र नीति, नियमन, संस्थागत लगानी र क्षमता अभिबृद्धि ज्ञानमा आधारित अर्थतन्त्रका खम्बाहरु हुन् । यी क्षेत्रको दिगो विकास गर्न सरकारको महत्वपूणर् भूमिका रहन्छ । ज्ञानमा आधारित अर्थतन्त्रको बिजारोपण गर्न आर्थिक विकास र संस्थागत विकासका निम्ति सरकारले वातावरण बनाउनु आवश्यक छ । प्रभावकारी गुणस्तरीय उच्च शिक्षा , नैतिक र अध्यात्मिक शिक्षा, सीप, सूचना सञ्चार र प्रविधि, अनुसन्धान एवं विकास, नवीनतामा लगानी बढाउनुपर्छ । देश समृद्ध बनाउन ज्ञानमा आधारित अर्थतन्त्रको निर्माण अपरिहार्य रहेको छ । यसका लागि शासकीय व्यवस्थाका पात्रहरुले ज्ञानमा आधारित अर्थतन्त्रमा लगानी अभिबृद्ध गर्ने कुरामा सहकार्य र हातेमालो गर्नु आवश्यक छ ।
(उप्रेती कोष तथा लेखा नियन्त्रक कार्यालयका प्रमुख कोष नियन्त्रक हुन् ।)

