तोमनाथ उप्रेती
विशिष्टीकृत ज्ञान सीपमा आधरित भई आचरणको गुणस्तर कायम राख्दै उच्च कार्यसम्पादन गर्ने कौशल नै व्यावसायिकता हो । व्यावसायिकताले आफ्नो पेशा तथा व्यवसायप्रतिको ज्ञान, गुण, अनुभव, विज्ञता तथा सक्षमतालाई जनाउँछ ।निजामती सेवाको व्यावसयिकता भनेको निजामती सेवाका सिद्धान्तको ज्ञान र त्यसलाई व्यवहारमा अपनाउने प्रतिबद्धता हो । कुनै खास पेशा वा व्यवसायमा आबद्ध व्याक्तिहरुको उक्त पेशाका लागि आवश्यक पर्ने सक्षमता, सीप तथा अपेक्षित व्यवहार र नैतिक आचरणको समग्रतालाई नै व्यवसायिकता भनिन्छ ।यो पेशागत विशिष्ट पहिचान एवं गरिमा हो ।यो प्रभावकारी कार्यसम्पादनको मुलभुत आधार हो । व्यावसायिकता सामाजिक समस्या समाधानार्थ प्रशासनिक कार्य सञ्चालनको निष्ठा, सीप, क्षमता र प्रविधि अनुकूलनता हो । त्यसैले व्यावसायिक हुनु नै निजामती सेवाको नैतिकता हो । यसले ज्ञान, सीप र क्षमताको अति उत्तम प्रयोग गराउँछ । कार्यप्रति नैतिक रहन उत्तरदायित्व निश्चित गर्छ र सुम्पिएको कामको वैधता पुष्टि गर्छ । यसलाई आजभोलि व्यावसायिक सदाचारको बृहत् नामबाट चिन्ने गरिन्छ, जसले कार्यनिष्ठा र कार्यआचारण दुवैलाई एकसाथ द्योतन गर्छ । सारमा भन्दा निजामती सेवा मूल्यमा आधारित हुनु नै निजामती सेवाको व्यावसायिकता हो ।
व्यवसायिकताका तत्वहरुमा कुशल एवं सक्षम नेतृत्व, तालिम र क्षमता विकास,मितव्ययिता तथा प्रभावकारीता,सीप र क्षमतामा स्तरोन्नति,इमान्दारिता,पारदर्शीता र जवाफदेहीता,विश्वसनीयता,परिणाममुखी मनोवृत्ति,अनुभव र ज्ञान आदानप्रदान, वस्तुनिष्ठ कार्यसम्पादन मुल्यांकन,नैतिक तथा सदाचारयुक्त कार्यवातावरण,अनुशासन तथा आचारसंहिताको कडा परिपालना,कार्यप्रतिको निष्ठा, नवप्रवर्तनशील सोँच,नतिजामुलक कार्यशैली,समुह गतिशिलता,सकारात्मक एवं उर्जाशील कार्यवातावरण,उत्पादनशीलता, निश्पक्षता तथा सु-स्पष्ठता, अध्ययन र अनुसन्धान,भ्रमण तथा अवलोकन,उच्च गुणस्तर आदि रहेका छन् ।संगठनको लक्ष्य तथा उद्देश्यलाई हासिल गर्न,स्रोत साधनको अधिकतम उपयोग गर्न, कार्यसम्पादनको स्तर वृद्धि गर्न,भ्रष्टाचारमुक्त, चुस्त र जनमुखी शासनको विकास गर्न,पेशा र संगठनप्रति जिम्मेवार र बफादार बनाउन,उत्पादन तथा उत्पादकत्वमा वृद्धि गर्न,सेवामा सुधार गर्न,नतिजामुखी कार्यसम्पादन गर्न,संगठनको साखलाई वृद्धि गर्न,सुशासन कायम गर्न,योग्य र सक्षम व्याक्तित्व निर्माण गर्न व्यवसायिकताको महत्व रहेको छ ।
शासकीय व्यवस्थाको लाभांशहरू नागरिकसामू पुर्याउने निजामती प्रशासन उच्च व्यावसायिक हुनुपर्ने अपेक्षा राखी विभिन्न प्रयासहरू हुँदै आएका छन् । यद्यपि, अपेक्षाकृत रूपमा व्यावसायिकताको विकास हुन सकेको देखिँदैन । भर्ना र नियुक्तिमा योग्यता प्रणाली रहेकाले सक्षम कर्मचारीबाट सञ्चालित छ । सेवा, समूहको वर्गीकरण तथा विशिष्टीकरण गरिएकाले लामो ज्ञान, सीप र अनुभवको विकास हुँदै गएको अवस्था विधमान छ । अनुभव, कार्यसम्पादन, तालिम, शैक्षिक योग्यताजस्ता सूचकहरूको आधारमा बढुवा हुने व्यवस्था रहेको छ ।सूचकसहितको कार्यसम्पादन सम्झौताको व्यवस्थाले कामप्रति जिम्मेवार र जवाफदेही कर्मचारीतन्त्रको विकास हुँदै गएको अवस्था छ। स्वदेशी तथा विदेशी अध्ययन एवं भ्रमण तथा विशिष्टीकृत रूपमा समयसमयमा गरिने तालिमले कर्मचारीहरू नवीनतम प्रवृत्तिप्रति अध्यावधिक हुँदै गएका छन् । आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐनमा सचिवलाई लेखा उत्तरदायी अधिकृत तोकिएको । राजनीति र प्रशासनको उत्तरदायित्व निर्धारण गरिएको । निजामती सेवा ऐन, नियमावलीमा आचरण तथा अनुशासनको व्यवस्था रहेको । सुशासन (सञ्चालन तथा व्यवस्थापन) ऐनले मन्त्री र सचिवको कार्यजिम्मेवारी किटान गरेको छ ।
नेपालको निजामती प्रशासनमा कर्मचारीहरू व्यावसायिक हुन सकेका छैनन । प्रणालीगत भन्दा पनि व्यक्तिगत स्वार्थले स्थान पाएको छ । तलब र महङ्गीबीच तादत्म्यता हुन सकेको छैन । कानूनी प्रक्रियालाई अनुशरण गर्नुपर्ने हुँदा नवप्रवर्तनमूखी बन्न सकेको पाइँदैन। प्रशासनिक संयन्त्रमा राजनीतिक हस्तक्षेप बढ्दो रुपमा रहेको छ । कर्मचारीहरूमा उच्च नैतिकता हुनुपर्ने मान्यता राखिएता पनि सेवकमुखी भन्दा शासकमुखी चरित्र हाबी छ । निजामती सेवामा सूचना प्रविधिसँग सम्बन्धित छुट्टै समूहको विकास गर्न सकिएको छैन । निजामती सेवामा कानुनप्रतिको उत्तरदायित्वलाई सर्वोपरि महत्त्व दिइएको छ। सार्वजनिक प्रशासनमा कार्यरत कर्मचारी आफ्नो सुपरिवेक्षकप्रति, सचिव विभागीय मन्त्रीप्रति, मन्त्री प्रधानमन्त्रीप्रति, मन्त्री तथा प्रधानमन्त्री व्यवस्थापिका संसद्प्रति, सांसद आफ्ना मतदाताप्रति प्रत्यक्ष उत्तरदायी हुनुपर्छ। प्रदेश सरकार प्रदेशसभा र स्थानीय तहका गाउँपालिका तथा नगरपालिकाका सम्बन्धित पालिकासभाप्रति उत्तरदायी हुनुपर्ने संवैधानिक र कानुनी व्यवस्था छ। त्यसैगरी सेवा प्रवाहका सन्दर्भमा कर्मचारीहरु सेवाग्राहीप्रति उत्तरदायी हुनुपर्ने नैतिक दायित्व स्थापित भएको छ।
निजामती सेवामा व्यावसायिकता विकासको विषय निरपेक्ष हुँदैन, अन्तरसम्बन्धित हुन्छ । निजामती प्रशासन राजनीतिक कार्यकारीबाट निर्दिष्ट हुन्छ, यसले सेवा दिने वर्ग सर्वसाधारण हो, सेवाग्राही सर्वसाधारणसँग घुलमिल गर्छ, आर्थिक तथा प्राविधिक पक्षबाट प्रभावित हुन्छ । सामाजिक मूल्यसंस्कृतिबाट माथि उठ्न धौधौ मान्छ । यसले कार्यसम्पादन गर्दा वा सुधारका कार्य अघि बढाउँदा अन्य निकायको सम्मति जित्नुपर्छ, अन्य निकायले सहयोग गर्नुपर्छ । सुधारका लागि थुप्रै सकस सहेर अघि बढ्ने साहस गरिरहनुपर्छ । यसको मतलब परोक्षरप्रत्यक्ष रूपमा अन्य प्रणालीसँगको सापेक्षमा आफूलाई परिमार्जित र व्यावसायिक बनाउनुपर्ने बाध्यात्मक अवस्था उसमा रहन्छ ।
नेपालको निजामती सेवामा व्यवसायिकता सम्बन्धमा विद्यमान समस्याहरुमा सरुवा प्रणाली पुर्व अनुमानयोग्य र चक्रीय प्रणालीमा आधारित नहुनु, बढुवा प्रणाली पुर्व अनुमानयोग्य प्रणालीमा आधारित नहुनु, सहि व्याक्तिको सहि स्थानमा पदस्थापन नहुनु, कार्यसम्पादन मुल्यांकन बस्तुनिष्ठ नहुनु,ट्रेड युनियनको अभ्यास व्यवसायिकता मैत्री नहुनु,अनुशासन तथा आचरणको अवस्था कमजोर हुनु,तालिम तथा क्षमता विकासका कार्यक्रम बढी सैद्धान्तिक हुनु,कार्यसम्पादन तथा सेवा प्रवाहमा अपेक्षाकृत रुपमा प्रभावकारीता नहुनु,उचित जिम्मेवारी र कार्यविभाजन नहुनु, दण्ड पुरस्कार प्रणाली प्रभावकारी नहुनु, इमानदार कर्मचारीहरु ओझेलमा पर्नु नेपालको निजामती सेवामा व्यवसायिकता सम्बन्धमा विद्यमान समस्याहरु
नेपालको निजामती प्रशासनमा व्यवसायिकताको विकास गर्न सेवा समूहको पुनर्संरचना गरी सूचना प्रविधिसँग सम्बन्धित कर्मचारीहरूको छुट्टै सेवा, समूहको निर्माण गर्ने,सेवा, समूहपिच्छे फरकफरक शैक्षिक योग्यता निर्धारण गर्ने, कर्मचारीहरूलाई अनिवार्य कार्यविवरण दिनुपर्ने व्यवस्था गर्ने,तालिमको प्रभावकारिता अभिवृद्धि गर्न व्यावहारिक पक्षलाई जोड दिने,विद्यालय तह, लोक सेवा आयोगलगायतका पाठ्यक्रमहरूमा नैतिकता र सदाचारिताका विषयहरू समावेश गरी उच्च नैतिक चरित्रवान् कर्मचारीहरूको छनोटमा जोड दिने,काम गर्ने र नगर्ने कर्मचारीबीच मूल्याङ्कन प्रणालीमा पृथकता ल्याई कार्यसम्पादनलाई दण्ड पुरस्कारसँग आबद्धता कायम गर्ने कुरामा जोड दिनुपर्दछ ।
त्यसैगरी विश्वविधालय, लोकसेवा आयोग, तालिम प्रदायक संस्था तथा परिचालन गर्ने निकायहरूबीच कार्यगत समन्वय कायम गर्ने,कार्य विश्लेषण गरी दरबन्दी सिर्जना गर्ने, कानून र कार्यविधिको सरलीकरण गर्ने, कार्यगत तथा व्यवस्थापकीय स्वायत्ततामा जोड दिने, कार्यसम्पादनमा प्रणालीगत आबद्धता कायम गर्नेजस्ता कुरामा जोड दिनु पर्दछ ।त्यसैगरी निजामती सेवाको कार्यसंस्कृति जनमुखी बनाउनु पर्दछ। परिवर्तित चुनौती बहन गर्नसक्ने क्षमता प्रणाली , शासकीय अवधारणामा आएको परिवर्तन, विश्वव्यापीकरण र प्रविधिको निरन्तर विकास गर्नु पर्दछ । निजामती सेवा र उसलाई दिशावोध गर्ने राजनीतिक कार्यकारिणीबीचको मान्य सम्वाद र सम्बन्ध प्रणालीको विकास गर्नु पर्दछ । तालिम तथा क्षमता विकासका विधिमार्फत व्यक्तिको सीप, क्षमता र केही हदमा स्वभाव परिवर्तन गरिनुपर्छ । कर्मचारीलाई नीति, विधि र प्रविधि अभ्यासको क्षमता विकासमार्फत परिवेशमा अनुकूलित बनाउँदै लाने व्यवहारोपयोगी तालिम दिनु पर्दछ ।
निजामती प्रशासनमा व्यावसायिकता विकासका लागि यसले गर्ने क्रियाकलापको पुनर्वोध गरिनु आवश्यक छ जहाँ व्यक्तिका चाहना र आवश्यकता, सेवाग्राहीको सन्तुष्टि र सरकारको उत्तदरदायित्व सबैलाई एकसाथ सम्बोधन गर्न सकियोस्। सेवालाई कार्यसँग आबद्ध गराउनका लागि पदहरुको कार्यमूलक वर्गीकरण गर्ने, कार्यविवरण बनाउने, कार्यसम्पादन योजना लागु गर्ने, कार्यसम्पादन सूचकहरु पहिचान गरी संस्थागत गर्ने, नयाँ पे-व्यान्ड लागु गर्ने र विशेषज्ञता विकासका लागि वैयक्तिक क्षमता प्रोफाइल बनाई व्यक्तिगत सिकाइको स्तर र व्यक्तिगत सिपको स्तरअनुरूप उसको कार्यप्रणालीलाई अनुगमन र नियमन गर्ने कुरामा जोड दिनु पर्दछ ।
कार्यसम्पादन योजना, पद वर्गीकरण, आचारसंहिताको क्रियाकलाप संचालनमा त्यसलाई लक्ष्यमुखी बनाउन दह्रिलो अनुगमन मूल्याङ्गनको निरन्तरता आवश्यक पर्दछ । यी कार्य निरन्तर र क्रियाकलापपिच्छे गरिनुपर्छ ताकि संस्थागत संस्कृति नै कार्यमुखी हुन सकोस्। यसर्थ निजामती प्रशासनमा व्यावसायिकता विकासका लागि यसले गर्ने क्रियाकलापको पुनर्वोध गरिनु आवश्यक छ जहाँ व्यक्तिका चाहना र आवश्यकता, सेवाग्राहीको सन्तुष्टि र सरकारको उत्तदरदायित्व सबैलाई एकसाथ सम्बोधन गर्न सकियोस्। यसका लागि प्रणालीभित्र दह्रिलो संस्थागत अठोट आवश्यक छ।
निजामती कर्मचारी समाजको अब्बल प्रतिभा, पढालेखा, योग्यताबाट परीक्षित र अनुभवबाट खारिएको हुनाले उसको व्यवहार, आनीबानी, शीलकौशल पनि उदाहरणीय भइदिए हुन्थ्यो भन्ने समाज र संस्थाको अपेक्षा रहेको छ । यसका लागि सार्वजनिक सेवा प्रवाहका क्षेत्रमा उच्च प्राविधिक दक्षता आवश्यक पर्ने क्षेत्र पहिचान गर्ने, प्राविधिक पूर्वाधार विकास गर्ने, निजामती सेवालाई प्रविधिमैत्री बनाउने, सेवा प्रवाहका आधारमा कर्मचारीको मूल्याङ्गन गरी त्यसैमा वृत्ति विकासलाई आबद्ध गर्नेतर्फ ध्यान दिनुपर्छ ।
आर्थिक तथा सामाजिक दृष्टिमा पिछडिएका वर्ग तथा समुदायको सशक्तीकरणका लागि लागू गरिएको आरक्षणको समीक्षा तथा प्रभाव मूल्याङ्गन गरी आवश्यकताअनुसार परिमार्जन गरिनु उपयुक्त देखिन्छ । कर्मचारीको पदस्थापना, सरुवा, बढुवालाई सम्बन्धित कर्मचारीको ज्ञान, सीप, क्षमता, अनुभवसँग आबद्ध गर्दै अनुमानयोग्य जस्ता वृत्ति प्रणाली विकास गर्न जरुरी छ ।
राजनीतिक नेतृत्वले आदर्श अभिभावकको भूमिका निर्वाह गरी सार्वजनिक व्यवस्थापनभित्र राजनीतिकरणको अन्त्य गर्न सकिएमा निजामती सेवाको साख पुनर्स्थापित गर्न महत्त्वपूणर् टेवा मिल्नेछ । त्यसैगरी सरकार परिवर्तनसँगै हुने उच्च व्यवस्थापकहरूको हेरफेर मार्फत सार्वजनिक व्यवस्थापनमा भित्रिने डर र त्रासको अन्त्य हुनु जरुरी छ । सार्वजनिक व्यवस्थापनलाई व्यावसायिक गुणयुक्त बनाउन तथा यसमा मूल्यजन्य, क्षमताजन्य र उपयुक्त व्यवहारजन्य पक्षहरू सिञ्चित गर्नु आवश्यक छ । क्षमता र तत्परता भएका सार्वजनिक पदाधिकारी तयार गरी लोकतन्त्रसँग सम्झौता बिना नै सम्भाव्य सुविधाहरू नागरिक समक्ष वितरण गर्न सकेमा मात्र परिवर्तनको फल स्थानीयकरण हुन सक्छ । उपलब्ध प्रतिभाको खोजी एवम् विकास गर्दै सार्वजनिक सेवाका आधारभूत मूल्यहरूलाई जगेर्ना गर्न सकेमा मात्र व्यावसायिक र उत्तरदायी सार्वजनिक व्यवस्थापनले कार्यरुप पाउने देखिन्छ ।
सार्वजनिक प्रशासनको कार्य सम्पादनको निरन्तर सुधार गर्ने आभ्यान्तरिक प्रेरणा नै सिर्जनशीलता हो । प्रशासनिक कार्यको मूल्य सिर्जना गर्ने नवीन विचारको कार्यान्वयन नै सिर्जनशीलता (नवप्रवर्तन) हो । सिर्जनशीलताले सेवाको सन्तुष्टि विस्तार, लागत न्यूनीकरणका साथ कार्यकुशलता वृद्धि रसरकार र सेवाग्राही दुवैलाई थप मूल्य सिर्जना गर्ने कुरामा जोड दिन्छ । अग्रगामी सरकार र उसको संयन्त्र प्रशासनले जहिले पनि सर्वसाधारणको मन जित्ने सेवा कम लागत र उच्चस्तरमा सम्भव तुल्याउँछ । कर्मचारीमा स्वउत्साह बढाइ उत्पादकत्व उकास्छ र वातावरणीय संवेदनशीलता देखाउँछ । ‘प्रशासनिक सास्तीबाट सेवाग्राहीलाई मुक्ति दिनु नै प्रशासनिक नवप्रवर्तन हो ।
प्रवर्तनकारी प्रशासनले सोच, प्रयास, संयम, विश्वास र प्रोत्साहनमा जोड दिन्छ । यो मूल्यसंस्कृति निर्माणको अनवरत प्रक्रिया हो । निजामती सेवाको व्यावसायिकता भनेको कानूनी एवं कार्यक्रमिक दायित्व पूरा गर्ने क्षमता र सामाजिक अपेक्षा पूरा गर्ने स्वभावको समष्टि हो । कानूनी र नैतिक दुवै रूपमा उत्तरदायी कर्मचारी नै व्यावसायिक ठहर्छ ।पेशागत जवाफदेहिता, कार्यसम्पादन, जागरुकता लगायत सबै विषयमा उच्च पदसोपानका पदहरू बढी जिम्मेवारीमा छन् ।
निष्कर्ष
सार्वजनिक प्रशासनलाई नागरिक सेवामा रूपान्तरण गर्न निजामती सेवा ऐनले आधार सिर्जना गर्नुपर्छ । राष्ट्रिय सदाचार नीतिलाई राजनीति, सार्वजनिक प्रशासन, निजी क्षेत्र, गैर सरकारी संस्था आदिको नैतिक मानकको रूपमा स्थापित गर्न आवश्यक छ । व्यावसायिक कर्मचारी प्रभावकारी र गुणस्तरीय कार्यसम्पादनको पूर्वशर्त हो । नेपालको निजामती प्रशासनमा उच्च व्यावसायिकताको विकास गर्दै सेवाप्रवाहलाई नागरिक सन्तुष्टि हासिल हुने बनाउनु आजको आवश्यकता हो ।यसका लागि व्यावसायिक निजामती सेवाको विकासमा ध्यानकेन्द्रित गर्न आवश्यक छ ।
(उप्रेती कोष तथा लेखा नियन्त्रक कार्यालय मोरङका प्रमुख कोष नियन्त्रक हुन्।)

