सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले सन् २०२४ को ‘बैंक अफ द इयर’ अवार्ड प्राप्त गरेको छ। यो प्रतिष्ठित अवार्ड बेलायतको लण्डनस्थित फाइनान्सियल टाइम्स समूहले प्रकाशित गर्ने पत्रिका दि बैंकर ले प्रदान गर्दछ। सिटिजन्स बैंकले पहिलो पटक यो अवार्ड हात पारेको हो।
बिहीबार लण्डनमा आयोजित भव्य समारोहमा सिटिजन्स बैंकका अध्यक्ष प्रवलजंग पाण्डे र प्रमुख कार्यकारी अधिकृत (सीईओ) गणेशराज पोखरेलले अवार्ड ग्रहण गरे।
बैंकले साना तथा लघु उद्यमलाई प्रवर्द्धन गर्दै प्रविधिमा आधारित कर्पोरेट बैंकिङ अभ्यासलाई प्राथमिकता दिएको छ। साथै, उर्जा तथा पूर्वाधार क्षेत्रका परियोजनामा लगानी गर्दै आएको सिटिजन्स बैंकले नेपालका वित्तीय क्षेत्रको विकासमा उल्लेखनीय योगदान पुर्याएको छ।
यस अवार्ड समारोहमा १५० देशका बैंकका अध्यक्ष, सीईओ, सीएफओ लगायत अन्य वरिष्ठ व्यवस्थापकहरूको उपस्थिति रहेको थियो।

