काठमाण्डौ । अमेरिकी गृह सुरक्षा विभागले नेपालको अस्थायी संरक्षित स्थिति (टीपीएस) खारेज गरेको छ । अमेरिकामा बस्दै आएका नेपालीहरुले स्वैच्छिकरुपमा अमेरिका छोड्नुपर्नेछ वा अन्य वैकल्पिक कानुनी मार्ग अपनाउनुपर्ने विभागले जनाएको छ ।
यो व्यवस्था बिहीबारबाट लागू हुने र ६० दिनभित्र स्वैच्छिकरुपमा अमेरिका छोड्न वा अन्य वैकल्पिक कानुनी मार्ग अपनाउन विभागले सुचित गरेको छ ।
टिपिएस खारेजीको यो निर्णयसँगसँगै आगामी अगष्ट ५ उप्रान्त सोही स्टाटसमा बसेका नेपालीहरु अवैध हुनेछन् । यस अघि डिसेम्वर २४ सम्म नेपालीहरुले टीपीएस सुविधा पाउने बताइएको थियो । टीपीएस खारेजीपछि करिब हुने छन् ।
अमेरिकी गृह सुरक्षा विभागले बिहीबार विज्ञप्ति जारी गर्दै नेपालको टीपीएस खारेज गरेको हो । अमेरिकी गृह सुरक्षा सचिव क्रिष्टी नोमले अमेरिकी सरकारका निकायहरुले नेपालको वर्तमान अवस्थाको बारेमा दिएको सुझाबलाई मनन गरी नेपाललाई टीपीएस सुविधा दिइरहनुपर्ने आवश्यकता नभएकोले सो खारेज गरेको बताएका छन्।
नेपालमा २०७२ का गएको महाभूकम्पका कारण भत्किएका संरचनाहरु पुनर्निर्माण भइसकेको पनि सो विज्ञप्तिमा छ । यस अघि ट्रम्प प्रशासनले हाल कायम रहेका १७ देशका आप्रवासीहरुको टिपीएस खारेज गर्ने निर्णय गरेको थियो ।
प्राकृतिक विपत्ति, सशस्त्र द्वन्द्व र महामारी जस्ता कारणले आफ्नो देशबाट भागेर आएका वा ल्याइएका आप्रवासीहरुलाई अमेरिकाले अस्थायी रुपमा काम गर्ने गरी अनुमति टीपीएस दिने गरेको हो ।
सन् २०१५ अर्थात् २०७२ सालको भूकम्पअघि वैध वा अवैध रुपमा यहीँ बसोबास गरिरहेका नेपाली आप्रवासीहरुलाई अमेरिकाले टीपीएसको सुविधा दिएको थियो । त्यस यता थुप्रै नेपालीहरुले टीपीएस सुविधा पाएर काम गर्दै आएका थिए । यस अघि अघिल्लो हप्ता मात्र अमेरिकी गृह सुरक्षा विभागले चारवटा देशको अस्थायी संरक्षित स्थिति (टीपीएस) खारेज गर्न गरेको निर्णयलाई सर्वोच्च अदालतले अनुमति दिएको थियो ।

