काठमाडौं — भारतको बिहारमा कात्तिक २० र २५ गते हुने विधानसभा निर्वाचनलाई मध्यनजर गर्दै नेपाल–भारत सीमा सुरक्षा बलबीच समन्वय बैठक भएको छ।
नेपालका काेशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका सशस्त्र प्रहरी बल (एपीएफ) का डिआइजीहरू भारतीय एसएसबी र बिहार सरकारको निमन्त्रणामा बुधबार बिहारमा आयोजित कार्यक्रममा सहभागी भएका हुन्।
बिहारसँग सीमा जोडिएका नेपाली जिल्लाका सशस्त्र प्रहरी बलका एसपीहरूलाई समेत उक्त कार्यक्रममा सहभागी गराइएको थियो। भारतीय पक्षबाट पनि सुरक्षा अधिकारीहरूको बाक्लो उपस्थिति रहेको बताइएको छ।
जेनजी आन्दोलनका क्रममा लुटिएका हतियार र जेलबाट भागेका कैदीहरू चुनावमा दुरुपयोग हुन सक्ने आशंका गर्दै भारतीय पक्षले सीमा क्षेत्रमा निगरानी, गस्ती र सतर्कता बढाउन आग्रह गरेको एक डिआइजीले बताए।
चुनाव अवधिमा सीमा सुरक्षामा नेपालको सशस्त्र प्रहरीको सहयोग अपेक्षित रहेको भारतीय सुरक्षाधिकारीहरूको भनाइ छ।