काठमाडौं । देशभर आज विभिन्न कार्यक्रम गरी प्रजातन्त्र दिवस मनाइँदै छ। सरकारी तथा स्वेच्छिक पहलमा आयोजित समारोह र कार्यक्रममार्फत दिवस मनाउने तयारी गरिएको छ।
दिवसका अवसरमा सरकारले आज सार्वजनिक बिदा दिएको छ। विसं. २००७ सालको क्रान्ति सफल भई १०४ वर्ष लामो निरंकुश राणाशासन अन्त्य गरेर प्रजातन्त्र स्थापना भएको सम्झनामा हरेक वर्ष फागुन ७ गते प्रजातन्त्र दिवस मनाइँदै आएको हो।
प्रजातन्त्रकै आधारमा लोकतन्त्र हुँदै मुलुकमा अहिले संघीय लोकतान्त्रिक गणतान्त्रिक शासन व्यवस्था स्थापित भएको छ।
राज्यशक्तिको स्रोत जनता नै हुन् र सार्वभौमसत्ता जनतामा निहित हुनुपर्छ भन्ने मान्यता जनआन्दोलन र वीर–वीरांगना शहीदहरूको बलिदानबाट स्थापित भएकाले यो दिन नेपालको इतिहासमा गौरवपूर्ण र अविस्मरणीय मानिन्छ।
तत्कालीन राजा त्रिभुवनको घोषणापछि राणा र नेपाली कांग्रेस सम्मिलित सरकार गठन भई नेपालमा प्रजातान्त्रिक शासनकालको औपचारिक सुरुवात भएको थियो।
प्रजातन्त्र दिवसका अवसरमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री तथा विभिन्न राजनीतिक दलका नेताले शुभकामना सन्देश दिएका छन्।

