राप्रपाकाे एकता महाधिवेशन बुधबार भृकुटीमण्डपमा सुरु हुँदै छ । पछिल्लोपटक पशुपतिशमशेर जबरा र डा. प्रकाशचन्द्र लोहनी नेतृत्वको राप्रपा एकीकृत तथा कमल थापाले नेतृत्व गरेको राप्रपाबीच एकता भएपछि हुन लागेको यो पहिलो महाधिवेशन हो । महाधिवेशनले एकीकृत पार्टीको नयाँ नेतृत्वसमेत चयन गर्ने छ । बुधबार उद्घाटनसत्र हुनेछ भने बिहीबार निर्वाचन प्रक्रिया सुरु हुनेछ । राप्रपा महाधिवेशन प्रचारप्रसार संयोजक मोहन श्रेष्ठका अनुसार महाधिवेशनमा देशभरिबाट करिब ४२ सय महाधिवेशन प्रतिनिधि सहभागी हुनेछन् । महाधिवेशनबाट पदाधिकारीसहित एक सय ४९ जना निर्वाचित हुनेछन् ।
अध्यक्ष, चार उपाध्यक्ष, तीन महामन्त्री तथा एक सय ४१ जना केन्द्रीय सदस्यका लागि निर्वाचन प्रक्रिया बिहीबार सुरु हुनेछ । निर्वाचित अध्यक्षले केही पदाधिकारीसहित ५० जना केन्द्रीय सदस्य मनोनीत गर्नेछन् । सातजना सहमहामन्त्री, सातजना सहायक महामन्त्री, एकजना कोषाध्यक्ष, प्रवक्ता, सहप्रवक्ता र सहायक कोषाध्यक्ष पनि निर्वाचित अध्यक्षले मनोनीत गर्नेछन् ।
अध्यक्ष कमल थापाले राजनीतिक कार्यपत्र, अध्यक्ष पशुपतिशमशेर राणाले सामाजिक कार्यपत्र र अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले आर्थिक कार्यपत्र पेस गर्ने कार्यसूची छ,’ श्रेष्ठले नयाँ पत्रिकासँग भने । यसैगरी बन्दसत्रमा विधान संशोधन सुझाब समितिका संयोजक निरञ्जन थापाले केन्द्रीय कार्यसम्पादन समितिद्वारा पारित विधान प्रस्तुत गर्ने कार्यक्रम छ । बिहीबार निर्वाचन प्रक्रिया सकेर शुक्रबारसम्म मतपरिणाम आउने गरी तयारी भएको छ
मंगलबार राप्रपाका अर्का अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले अध्यक्ष पदका लागि लिङ्देनलाई सहयोग गर्ने घोषणा गरेका छन् । अर्का अध्यक्ष राणाले भने पार्टी एकता सर्वोपरी आवश्यक रहेको भन्दै सहमतिका आधारमा अघि बढ्न आग्रह गरेका छन् । ‘आजको सन्दर्भमा पार्टी एकता सर्वोपरी सत्य बनेको छ । नेतृत्वको रस्साकसीमा फेरि पनि टुट र फुटको शृंखला नदोहोरियोस् भन्ने मेरो चाहना हो,’ राणाले मंगलबार पत्रकार सम्मेलनमा भने, ‘सहमति र सर्वसम्मतिका आधारमा पार्टी नेतृत्व चयन होस् भन्ने मेरो चाहना छ । त्यसैले सर्वसम्मतद्वारा अध्यक्षको चयन होस् भन्ने मेरो प्रयत्न हुनेछ ।

