नबिल बैंकले जाजरकोट र रुकुम पश्चिममा भूकम्पपछि निर्माण गरेका ९६ वटा अस्थायी आवास हस्तान्तरण गरेको छ । आज एक विशेष कार्यक्रमका बीच नबिल बैंकका अध्यक्ष उपेन्द्रप्रसाद पौडेलले नलगाड नगरपालिकाका मेयर डम्बरबहादुर रावत र चौरजहारी नगरपालिकाका मेयर पुष्प वादीलाई आवास हस्तान्तरण गरिएको हो । कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रप्रसाद ढुंगाना, बैंकका सञ्चालक निर्वाण चौधरी लगायत उच्च पदाधिकारीहरुको उपस्थिती रहेको थियो ।
हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै नबिल बैंकका अध्यक्ष पौडेलले बैंक समाजमा सकारात्मक प्रभाव पार्न सधैं प्रतिबद्ध रहेको बताए । उनले प्राकृतिक प्रकोपबाट प्रभावितहरूलाई सहयोग पुर्याउने उद्देश्यले नबिल बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत यो परियोजना अघि बढाएको बताए ।
नबिलले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत अस्थायी आवास निर्माण गरेको हो । बैंकले स्थानीय सरकारसँगको साझेदारीमा जाजरकोटको नलगाड नगरपालिकाको वडा १ मा ४७ र रुकुम पश्चिमको चौरजहारी नगरपालिकाको वडा १ मा ४९ अस्थायी आवास निर्माण गरेको थियो । बैंकले अस्थायी आवास बनाउन आवश्यक जस्तापाता, बाँस, सिमेन्ट, रंगरोगन, किल्लाकाँटीजस्ता निर्माण सामग्री उपलब्ध गराएको थियो ।
कार्यक्रममा नलगाड नगरपालिकाका मेयर डम्बरबहादुर रावत र चौरजहारी नगरपालिकाका मेयर पुष्प वादीले भूकम्प प्रभावितलाई सुरक्षित ओत लाग्ने ठाउँ उपलब्ध गराएकोमा नबिल बैंकलाई धन्यवाद दिएका छन् । उनीहरूले निजी क्षेत्रले राज्यको दायित्वमा साथ दिएर सामाजिक उत्तरदायित्व पूरा गरेको कार्य प्रशंसनीय रहेको बताए ।

