कोभिड १९ को दोस्रो लहरबाट नराम्ररी प्रभावित भएको भारतमा ठूला शहरका अस्पतालहरू संक्रमितहरूले भरीभराउ हुन थालेका छन् । अक्सिजनकै अभावमा मानिसहरुले ज्यान गुमाउनुपर्ने अवस्था आएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् । भारतमा जत्तिकै नभएपनि नेपालमा पनि कोरोना संक्रमण तीव्र गतिमा फैलिएको छ ।
बाँकेमा जटिल अवस्थाका संक्रमितहरुले बेड नपाउने अवस्था छ भने अरु शहरहरुमा पनि बेड पाउन गाह्रो छ । यही गतिमा संक्रमण बढ्दै गयो भने अवस्था भयावह हुनसक्ने चिकित्सकहरुको चेतावनी छ यो बेला नेपालमा पनि भारतमा जस्तै अक्सिजनको अभाव हुने त होइन ? भन्ने चिन्ता सुरू भएको छ ।
वितरण प्रणालीमा केही समस्या भए पनि ठूला सहरहरुमा अक्सिजन अभाव हुने अवस्था भने नरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा.डा जागेश्वर गौतम भन्छन्– अक्सिजन उत्पादन कति छ भन्नु भनेको त्रिशूलीमा पानी कति छ भन्नु जस्तै हो । यो प्लान्ट जति चलायो उति उपलब्ध हुन्छ
निजी उत्पादकहरूले पनि मागअनुसार अक्सिजन उत्पादन र वितरणका लागि आफूहरू तयार रहेको बताएका छन् । ‘अक्सिजन उत्पादनमा हामी आत्मनिर्भर छौं, सिलिण्डर होल्ड हुन रोक्ने र नयाँ सिलिण्डर व्यवस्थापनका लागि सरकारले पहल गरे नेपालले थप चिन्ता लिनु पर्दैन’, नेपाल अक्सिजन ग्यास उत्पादक संघका अध्यक्ष गौरव शारडाले भने ।
