भेरी अस्पतालमा कोरोना संक्रमितको उपचारका लागि स्वास्थ्यकर्मीहरुको अभाव भएको छ। जसका कारण संक्रमितहरु उपचारबाट वञ्चित हुन थालेका छन। गत वर्ष सरकारले केन्द्रबाटै चिकित्सक पठाएर केही सहयोग गरेको भए पनि यस पटक चिकित्सक अभावमा अवस्था भयावह भइसकेको छ।
दाङ तुलसीपुरका सन्तोष वली १२ दिनदेखि कोरोना संक्रमित छन्। उनी भेरी अस्पताल आसपासमा उपचारका लागि दौडधुप गरिरहेका भेटिन्छन्। आफूसँगै संक्रमित श्रीमतीको उपचारका लागि उनी भ्याइन भ्याइमा छन्।
अस्पताल बसाइ उनका लागि निकै कष्टकर बनेको छ। केही दिनअघि मात्रै उनले कोरोना संक्रमणकै कारण छोरी गुमाएका थिए। दाङमा स्टाफ नर्सको रुपमा कार्यरत रहँदा उनकी छोरी संक्रमित भएकी थिइन्। उपचारकै क्रममा उनको मृत्यु भयो। यस्तो पीडाबीच अस्पतालमा राम्रो उपचार गराउन नसकेको उनको गुनासो छ।
कोभिडका बिरामीलाई भर्ना गर्न नसकेकाे चिकित्सकहरुले बताएका छन्। आइसोलेशनको अभावका कारण संक्रमितहरु उपचार पाउनबाट बञ्चित छन्। अस्पतालमा जटिल अवस्थाका बिरामी थपिने क्रम बढ्दो छ। भर्ना भएका बिरामीहरु डिस्चार्ज भएपछि मात्रै अर्को संक्रमितले बेड पाउने अवस्था रहेको भेरी अस्पतालका फिजिसियन डाक्टर संकेत रिसालले बताए।
जिल्लाभर १ हजार २ सय ६६ सक्रिय संक्रमित छन्। अस्पतालमा भर्ना भएका बाहेक केहीलाई राँझा विमानस्थल नजिकैको ह्वाइट हाउस आइसोलेसन सेन्टरमा राखिएको छ भने केही होम आइसोलेसनमा छन्।
भेरी अस्पतालले कोरोनाको संक्रमण फैलिने क्रम नरोकिए समग्र स्वास्थ्य प्रणाली नै फेल हुन सक्ने बताइसकेको छ। दैनिक एक सयभन्दा बढी कोरोनाका बिरामीहरु थपिँदै गएका छन्। पछिल्लो २४ घण्टामा भेरी अस्पतालमा उपचारका लागि भर्ना भएका ६ जनाको मृत्यु भएको छ।
