काठमाण्डौ— सर्लाही जिल्लाको ईश्वरपुर नगरपालिका–१३ बाँके–संग्रामपुर सडकखण्डअन्तर्गत ठिल्ला नजिक बुधबार राति तीन मोटरसाइकल आपसमा ठोक्किँदा दुई युवकको मृत्यु भएको छ भने अन्य दुई जना घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका डीएसपी सरोज राईका अनुसार दुर्घटना राति करिब ८ बजे भएको हो। दुर्घटनामा हरिपुर्वा नगरपालिका–९ का करिब ३० वर्षीय मुकेश राय र सोही ठाउँका ३० वर्षीय रामज्ञान रायको मृत्यु भएको प्रहरीले जनाएको छ।
अचेत अवस्थामा फेला परेका दुवै जनालाई लालबन्दीस्थित मोडल अस्पताल हुँदै मलंगवाको प्रादेशिक अस्पताल पुर्याइएको थियो। राति करिब १० बजे अस्पताल पुर्याउँदा चिकित्सकले उनीहरूलाई मृत घोषणा गरेका थिए।
दुर्घटनामा हरिपुर्वा नगरपालिका–९ का २२ वर्षीय विक्रम राय र ४२ वर्षीय रामविश्वास राय सामान्य घाइते भएका छन्। उनीहरूको लालबन्दीस्थित मोडल अस्पतालमा उपचार गरिएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार बीआर ३० एआर ३४५८, बीआर ३० एपी ३८०९ र एसपी सी ०६२३ नम्बरका तीनवटा भारतीय नम्बर प्लेट भएका मोटरसाइकल एकै स्थानमा दुर्घटनाग्रस्त अवस्थामा फेला परेका थिए। यात्रुहरूले खबर गरेपछि प्रहरी चौकी गौरीशंकरबाट प्रहरी सहायक निरीक्षक लिलानाथ मिश्राको नेतृत्वमा पुगेको टोलीले मृतक र घाइतेको उद्धार गरेको थियो।
दुई मृतक र दुई घाइते कुन–कुन मोटरसाइकलमा सवार थिए भन्ने अझै खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ।
प्रारम्भिक अनुसन्धानमा तीव्र गतिको कारण दुर्घटना भएको अनुमान गरिएको छ। घटनाबारे थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरीले जनाएको छ।

