जनता समाजवादी पार्टीका ६ जना शीर्ष नेताहरूको बैठक अहिले बसिरहेको छ। पार्टी कार्यालय बालकुमारीमा जसपा नेताहरूको बैठक बसेको हो। बैठकमा नेताहरू महन्थ ठाकुर, बाबुराम भट्टराई, उपेन्द्र यादव, राजेन्द्र महतो, अशोक राई र राजेन्द्र श्रेष्ठ सहभागी छन्।
प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारलाई समर्थन गर्ने कि कांग्रेस सभापति शेरबहादुर देउवाको नेतृत्वमा नयाँ सरकार बनाउने भन्नेमा जसपाभित्र दुई मत छन्। ठाकुर र महतो ओली सरकारकै पक्षमा देखिएका छन् भने भट्टराई र यादव ओलीलाई जसरी पनि सत्ताबाट निकाल्नु पर्ने पक्षमा छन्।
दुई धार भएकाले नयाँ सत्ता समिकरणका लागि निर्णायक जसपा लामो समयदेखि अनिर्णित छ। ५१ सदस्यीय जसपाको कार्यकारिणी समितिमा भट्टराई र यादव पक्ष स्पष्ट बहुमतमा छ। नेताहरूबीच अहिले भइरहेको बैठकले कार्यकारिणी समितिको बैठक बोलाउने सम्भावना रहेको एक नेताले सेतोपाटीलाई बताए।

