काठमाडौँ, मङ्सिर १४ गते । ‘उत्साह, एकता र रूपान्तरण; सफल बनाऔँ १४औँ महाधिवेशन’को नाराका साथ नेपाली काँग्रेस पार्टीले १४औँ महाधिवेशनलाई प्रविधिमैत्री बनाउने गरी गृहकार्य गरिरहेको छ ।
प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको- संयोजकत्वमा गठित महाधिवेशन तयारी मूल समितिले प्रविधिको उच्चतम प्रयोगलाई प्राथमिकतामा राखेर तयारी अगाडि बढाएको हो ।
गृहमन्त्री एवं महाधिवेशन तयारी मूल समितिका सदस्य बालकृष्ण खाणले नेपाली काँग्रेसलाई समयानुकूल रूपान्तरण गर्ने गृहकार्य पहिल्यै सुरु भइसकेको बताउनुभयो । उहाँले भन्नुभयो, “यस पटक क्रियाशील सदस्यता भर्ने र नवीकरण गर्न पनि प्रविधिको प्रयोग गरेका छौँ । पार्टीको आधिकारिक वेबसाइटमै क्रियाशील सदस्यको नामावली हेर्ने व्यवस्था गरिएको छ, महाधिवेशनलाई पनि प्रविधिमैत्री बनाउनेतर्फ हाम्रो ध्यान केन्द्रित छ ।”

