म्यानमारकी प्रजातन्त्रवादी नेतृ आङ सान सुकीको जेल सजाय आधा घटाउने निर्णय गरेको छ। सोमबार म्यानमारको न्यपेतस्थित सेनाको अदालतले उनलाई दुई फरक फरक आरोपमा समान दुई/दुई वर्षको जेल सजाय सुनाएको थियो।
सोमबार म्यानमारको सरकारी एमआरटीभीले सुकीको जेल सजाय चार वर्षबाट आधा घटाएर दुई वर्षमा झारिएको उल्लेख गरेको छ। समाचार संस्था एएफपीका अनुसार सरकार प्रवक्ताले ७६ वर्षीया सुकीलाई चार वर्षको जेल सजाय जानकारी दिएका थिए।
सोमबार एक अदालतले सुकीलाई सेनाविरूद्ध नागरिकलाई भड्काएको, कोभिड-१९ रोकथामका मापदण्ड उल्लंघन गरेको आरोपमा दोषी ठहर गर्दै जेल सजाय सुनाएको हो।
गत वर्ष फेब्रुअरी १ मा म्यानमारको सेनाले जननिर्वाचित सरकारलाई अपदस्त गरेर सुकीलाई नियन्त्रणमा लिएको थियो। त्यसयता उनी सार्वजनिक रूपमा देखिएकी छैनन् भने बन्द कोठाभित्र उनको मुद्दाको सुनुवाइ भएको थियो। उनलाई कहिलेदेखि जेलमा राखिने भन्नेबारे केही बताइएको छैन।

