सरकारले कोरोनाभाइरसको बढ्दो संक्रमणका कारण काठमाडौं उपत्यकामा निषेधाज्ञा जारी गरेसँगै उपत्यकाबाट बाहिरिनेहरु बढ्न थालेका छन् । उपत्यकाका तीन वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले काठमाडौं उपत्यकामा बिहीबार बिहान देखि वैशाख २२ गतेसम्म निषेधाज्ञा जारी गरेको छ भने मन्त्रिपरिषद् बैठकले थप निर्णय गर्दै वैशाख मसान्तसम्मै निषेधाज्ञा जारी गर्ने निर्णय गरेको छ ।
उपत्यकाबाहिर घर भइ काठमाडौंमा विभिन्न पेशा व्यवसाय गर्दै बसेका सर्वसाधारण आफ्नो थातथलोतिर लागेका हुन् । मंगलबार बिहानै आफ्नो घर जानका लागि कोटेश्वर,कलंकी र बल्खु, नयाँ बसपार्क लगायतका स्थानमा सर्वसाधारणहरूको भिडभाड बढेकाे थियो ।
काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले उपत्यका बाहिर जान चाहनेका लागि दुई दिनको समय दिएर प्रशासनले निषेधाज्ञाको निर्णय गरेको सोमबार नै बताएका थिए ।
