भारतबाट शुरू भएको कोरोना महामारीले नेपालमा पनि भयावह रूप लिन थालेको छ। सुदूरपश्चिमको स्थिति भयावह बनिसकेको छ। सुदूरपश्चिममा समुदायस्तरमै कोरोना फैलिसकेको स्वास्थ्यकर्मीहरू बताउँछन्। अर्कातर्फ, स्थानीय तहले स्वाब परीक्षण तथा एन्टिजेन परीक्षण समेत बन्द गरेका छन्। केही स्थानीय तहले बजेट अभाव भएकाले महामारी नियन्त्रण तथा रोकथाम तयारीका काम नै अघि जानकारी दिएका छन्। कैलालीमा संक्रमित संख्या दिनहुँ बढिरहेको छ।
अहिले नगरपालिकामा कोरोना परीक्षण गर्ने कामसमेत बन्द रहेको छ। नगरपालिकामा २७ जना कोरोना संक्रमित छन् भने दुई जनाको कोरोनाकै कारण ज्यान गएको छ। भारतबाट गत फागुनदेखि चैत मसान्तसम्म फर्किएका करीब १५० जनामा संक्रमण पुष्टि भएको नगरपालिकामा जनस्वास्थ्य प्रवर्द्धन शाखाका प्रमुख बलबहादुर रावलले जानकारी दिए।
नगरस्तरीय कोरोना भाइरस रोकथाम तथा नियन्त्रण समितिको बैठक बस्न सकेको छैन नगरपालिकाको बैठक बसेर आवश्यक निर्णय गर्नुपर्ने भएकाले तयारीको प्रकृया अगाडि बढ्न नसकेको हो ।
नगरपालिकामा कोरोना परीक्षण नहुँदा शंकास्पद बिरामी नेपालगञ्ज र धनगढी गएर परीक्षण गराउँदै आएको बताउँदै धनगढीको तथ्यांक जानकारी गराउने गरेको भएपनि नेपालगञ्जको तथ्यांक नआउने गरेको उनले जानकारी दिए। ‘हामीसँग ३८ शय्याको आइसोलेशन वार्ड तयारी अवस्थामा छ, त्यसैलाई सञ्चालनको तयारी गर्दैछौँ,’ उनले भने, ‘स्थिति अहिलेकोभन्दा पनि नराम्रो हुने संकेत देखा पर्दै गएको छ, हामी सबै सचेत हुनुको अर्को कुनै विकल्प छैन।’
भारतीय सीमासँग सिमाना जोडिएको भजनी कोरोनाको उच्च जोखिममा छ। नगरपालिकाको सीमावर्ती क्षेत्रमा भारतीय नागरिकले खेती गर्न नेपाल आउने गरेका छन्। त्यसबाट झनै जोखिम भएको स्थानीय महेश बुढाले जानकारी दिए। नगरपालिकामा अहिलेको अवस्थामा त्यस्तो जोखिम नदेखिएको बताउँदै नगरपालिकाका स्वास्थ्य शाखाका प्रमुख कृति विकले केही दिनमै नगरपालिकाको बैठक बस्ने र योजना तयार गरिने बताइन्।
जानकी गाउँपालिकामा पनि अवस्था उस्तै रहेको छ। गाउँपालिकाले तयारीको प्रकृया अगाडि बढाएको भने पनि तयारी भइनसकेको पाइएको छ। कोरोनाका शंकास्पद बिरामीको गाउँपालिकामा सहजै परीक्षण हुन सकेको छैन।
‘आकस्मिकरुपमा मात्रै कोरोनाको परीक्षण भइरहेको छ। पहिलेको जस्तो परीक्षण शुरु गरिसकेको अवस्था छैन,’ गाउँपालिकाका अध्यक्ष प्रदीपकुमार चौधरीले भने, ‘आइसोलेशन तयारी अवस्थामा राखेका छौँ, किट अभाव छ, टीकापुर अस्पतालसँग समन्वय भइरहेको छ।’
टीकापुर अस्पतालले तयारी अन्तिम चरणमा पुगेको बताएको छ। अस्पताल विकास समितिका अध्यक्ष दीपक रावलले आइसोलेशन वार्ड तयार भइरहेको जनाउँदै अन्य तयारी भइरहेको जानकारी दिए। कोरोनाको लक्षण देखिएका संक्रमितको उपचारका लागि अस्पतालले आइसोलेशन तयार पार्न लागेको हो।
