काठमाण्डौ । त्रिकोणात्मक टी-२० सिरिजमा नेपालले पहिलो जित हासिल गरेको छ। मंगलबार राति भएको खेलमा स्कटल्यान्डलाई २ विकेटले हराउँदै नेपालले प्रतियोगितामा पहिलो जित निकालेको हो।
टस हारेर पहिले ब्याटिङ गरेको स्कटल्यान्ड २ बल बाँकी हुँदै ९७ रनमा अलआउट भएको थियो। जवाफमा ९८ रनको कमजोर लक्ष्यमा पनि नेपालले कडा संघर्ष गर्दै नेपालले इनिङको अन्तिम बल बाँकी हुँदा ८ विकेट गुमाएर लक्ष्य पुरा गरेको हो ।
मंगलबारको खेलमा ओपनर कुशल भुर्तेलले ३० रन बनाउँदा दिपेन्द्र सिंह ऐरीले १४ रन बनाए भने बसिर अहमदले १३ रन बनाउँदा किरन ठगुन्ना १० रन बनाएका थिए। नेपालका लागि विजयी रन सन्दीप लामिछानेले १ बल खेल्दै १ रन हानेर पुरा गरे । उनीसँग करण केसी ३ रनमा अविजित रहे।
कमजोर स्कोरका बाबजुद नेपाली ब्याटरलाई दबाब दिन सफल भएको स्कटल्यान्डका लागि माइकल लिस्क र सफ्यान सरिफले समान २/२ विकेट लिंदा ब्रान्डन म्याकमुलम, मार्क वाट, ज्याक जार्भिस, र जसपर डेभिडसनले समान १/१ विकेट लिए।
त्यसअघि नेपालको उत्कृष्ट बलिङमा सन्दीप लामिछानेले ४ ओभर बलिङ गर्दै ११ रन खर्चिएर ४ विकेट लिएका थिए। त्यस्तै करण केसी र दिपेन्द्र सिंह ऐरीले समान २/२ विकेट लिंदा ललित राजवंशीले १ विकेट हात पारे ।
नेपाल विरुद्ध सुरुवातबाटै धर्मराएको स्कटल्यान्डको इनिङ सुरुवाती २४ रन जोड्दै ५ विकेट गुमाउन पुगेको थियो। छैटौं विकेटका लागि माइकल लिस्क र कप्तान म्याथ्यु क्रसले ३९ रनको साझेदारी गरे।
उक्त साझेदारी लामिछानेले तोड्दै पुन स्कटल्यान्डलाई पछि पारे । उनले कप्तान क्रसको विकेट सहित २ बलमा २ विकेट लिएर पुन नेपाललाई खेलमा फर्काए। उनले तीन खेलाडीलाई बोल्ड गर्दा स्यान सरिफलाई एलबिडब्लु आउट गरे।
स्कटल्यान्डका लागि लिस्कले ४६ बलमा ४६ रन बनाउनु बाहेक अन्यको प्रदर्शन सम्झना योग्य रहेन। उनी बाहेक कप्तान क्रसले १५ रन बनाउँदा ब्रान्डन म्याकमुलमको १० रन थप दोहोरो स्कोरका रुपमा रह्यो।
मंगलबारको खेलमा बलर करण केसीले आफ्नो १ सयौं विकेटको कोसेढुङ्गा समेत पुरा गर्न सफल भए ।

