काठमाण्डौ । सर्लाहीको बरहथवा नगरपालिका–४ स्थित खैरवा टोलमा बाटो विस्तारका क्रममा दुई पक्षबीच झडप हुँदा प्रहरीसहित १० जना घाइते भएका छन्।
सडक विस्तारका विषयमा विवाद भएपछि दुई पक्षबीच ढुङ्गा हानाहान भएको अवस्थामा स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले लाठीचार्ज गरेको थियो । लाठीचार्जको अलावा एक ‘राउन्ड’ गोली समेत चलाएको जिल्ला प्रहरी कार्यालयका निमित्त प्रहरी प्रवक्ता बालिष्टर सिंहले जानकारी दिएका छन् ।
घटनामा प्रहरी निरीक्षक दिवाकर गणेशको दाहिने हातमा चोट लागेको छ भने प्रहरी जवान प्रमेश्वर राय यादवको टाउकामा चोट लागेको छ। दुवै जनाको बरहथवा नगर अस्पतालमा उपचार भइरहेको छ।
यसैगरी वादविवादको क्रममा बरहथवा नगरपालिका–४ खैरवाका ५० वर्षीय टीकाबहादुर कार्की, ५२ वर्षीय कुलबहादुर कार्की, ३५ वर्षीय सञ्जय कुशवाह, ४२ वर्षीय रमेश महतो, ३८ वर्षीय इन्दु देवी, २६ वर्षीय प्रदीप कुशवाह, २८ वर्षीय अनिल कुशवाह र ३५ वर्षीय उमेश महतो घाइते भएका छन् ।
घाइतेमध्येका टीकाबहादुर कार्की र कुलबहादुर कार्कीलाई बरहथवामा प्राथमिक उपचारपछि थप उपचारका लागि काठमाडौँ ‘रेफर’ गरिएको र अन्य घाइतेको स्थानीय अस्पतालमा उपचार भइरहेको सर्लाही प्रहरीले जनाएको छ।
वादविवाद, झडप, ढुंगा हानाहान आदि कृयाकलापमा संलग्न भएको अभियोगमा सात जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

