काठमाडौँ। सङ्घीय संसद् अन्तर्गतका चारवटा संसदीय समितिका बैठक आज बस्दै छन्। यी बैठकमा विभिन्न महत्त्वपूर्ण विधेयक र राष्ट्रिय सरोकारका विषयमा छलफल हुने कार्यसूची रहेको छ।
कुन समितिको बैठकमा के छ कार्यसूची ?
कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको दिउँसो १२:३० बजे बस्ने बैठकमा ‘भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०८२’ माथि छलफल हुनेछ। छलफलमा सङ्घ र प्रदेशका सरोकारवाला मन्त्रालयका साथै विभिन्न विज्ञहरूको उपस्थिति रहनेछ।
शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको दिउँसो २:३० बजे बस्ने बैठकमा ‘मिडिया काउन्सिल विधेयक, २०८०’ माथि दफावार छलफल गरिनेछ।
विधायन व्यवस्थापन समितिको दिउँसो १:०० बजे बस्ने समितिको बैठकमा ‘जलस्रोत विधेयक, २०८१’ माथि दफावार छलफल गरिनेछ।
सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बिहान ११:०० बजे बस्ने बैठकको मुख्य एजेन्डा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय अन्तर्गतका राष्ट्रिय गौरवका आयोजनाहरूको प्रगति र समस्याबारे छलफल गर्नु रहेको छ। यसमा समस्या समाधानका प्रयासहरू र समितिबाट हुने अपेक्षामा समेत कुराकानी हुने संसद सचिवालयले जनाएको छ ।

