नेपालको भूमिबाट पनि चीनको मानसरोवर र कैलाश पर्वतको दर्शन गर्न सकिने भएपछि अहिले नेपाली पर्यटन व्यवसायीहरू नेपालबाटै स्वदेशी र विदेशी पर्यटकलाई कैलाश मानसरोवरको दर्शन गराउने अभियानमा लागेका छन् ।
हुम्लाको उत्तरी नाम्खा गाउँपालिका–६, लिमी लाप्चा भञ्याङबाट मानसरोवर कैलाश दर्शन गर्न सकिने भएपछि पर्यटन व्यवसायीले भारत र नेपालका पर्यटकलाई त्यहीबाट मानसरोवर दर्शन गराउन थालेका छन् ।
कोभिड–१९ का कारण हिल्सा नाका बन्द गरिएकाले चीनको मानसरोवर कैलाश दर्शन गर्न जानसक्ने अवस्था नभएपछि हुम्लाको लिमी लाप्चासम्म पर्यटक लगेर त्यहाँबाटै दर्शन गराउने तयारी गरिएको ट्रेकर सोसाइटी ट्राभल्सले जनाएको छ । त्यसका लागि ६० जना विदेशी पर्यटकलाई पहिलो खेपमा भदौ २४ गते नेपालगञ्ज भएर लिमी लाप्चा लैजान लागेको ट्रेकर सोसाइटी ट्राभल्सका नेपालगञ्जस्थित प्रमुख टकला रावतले बताए । स्वास्थ्य मापदण्डको पालना गरेर पीसीआर परीक्षण गराई खोपसमेत लगाइसकेका पर्यटकलाई मात्र लिमी लाप्चा लैजान लागेको रावतले जानकारी दिए ।
